वीरगञ्ज | वीरगञ्जको नारायणी अस्पतालमा शुक्रबार गरिएको परीक्षणमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।अस्पतालको प्रयोगशालामा १ सय ३९ जनाको स्वाब परीक्षण गर्दा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए।
संक्रमण देखिएकामध्ये सबैभन्दा बढी संक्रमित पर्सा जिल्लाका रहेका छन्। पर्सामा ६७ जनामा संक्रमण देखिएको छ। यस्तै बाराका १३ जना, रौतहटका ४, महोतरी र धनुषाका एक/एक जनामा संक्रमण पुष्टि भएको डाक्टर दासले बताए।
संक्रमण देखिनेमा २ वर्षका बालकदेखि लिएर ८३ वर्षका बृद्धसम्म रहेका छन्। संक्रमितमध्ये ६३ पुरुष र २३ जना महिला छन्।
नारायणी अस्पतालमा अहिले ३१ जना संक्रमितहरु उपचाररत छन्। आजै (शुक्रबार) अस्पतालमा उपचार गराइरहेका एक जना संक्रमितको मृत्यु भएको छ।