वीरगञ्ज। पर्सा जिल्लामा लगातार तेस्रो दिनपनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेहरुलाई कारवाही गरिएको छ ।जिल्लाको सदरमुकाम वीरगञ्जलगायतका स्थानहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी मास्क नलगाई घर बाहिर घुमिरहेका ३ सय १ जनालाई बुधबार कारवाही गरिएको हो ।
उनीहरुलाई कारवाही स्वरूप एक सय रुपैयाँ दण्डित गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जरिवाना तिरेकाहरुलाई एउटा मास्क दिएर आगामी दिनमा मास्क बिना घर बाहिर ननिस्किन प्रहरीले आग्रह समेत गरेको थियो ।
३ सय १ जनालाई कारवाही गर्दा ३० हजार १ सय रुपियाँ राजश्व उठेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।
पर्सामा कोरोनाभाइरस सङ्क्रमितहरुको संख्या बढीरहँदा समेत स्थानीयले प्रशासनको निर्देशनलाई अवज्ञा गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेपछि मास्क नलगाई बाहिर घुम्नेलाई सोमबारदेखि कारवाही गर्न थालिएको हो ।