बीरगन्ज। वैदेशिक रोजगारमा जानेहरुको संख्या बढीरहेको अवस्थालाई मध्यनजर गर्दै पर्सा जिल्लामा बुधवारदेखि सुरक्षित आप्रवाशन परियोजना शुरु भएको छ ।
वीरगञ्ज महानगरपालिका, हेल्भिटास (नेपाल) र दिब्य युवा क्लबको सयुँक्त आयोजनामा बुधवार एक कार्यक्रमका बिच वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले परियोजनाको शुभारम्भ गरेका हुन् ।
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवम् शोषणरहित बनाउने अभिप्रायले परियोजनाको शुभारम्भ गरिएको नगरप्रमुख सरावगीले बताए ।
नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालीत परियोजना ३९ जिल्लाका १५६ स्थानीय तहहरुमा यसअघि नै शुरु भइसकेको छ । वि.स.२०७५ भाद्र ३१ देखि शुरु भएको परियोजनाको समयसिमा २०७९ असार ३१ मा सकिने छ ।