जनकपुरधाम । प्रदेश २ मा ९३ जना कोरोना संक्रमित थपिएका छन्। मंगलबार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ७ सय ८२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्स डा. कमलेश प्रसाद यादवले जानकारी दिए।
प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पर्सामा ५९, बारामा १४, रौतहटमा ६, धनुषामा ३, महोत्तरीमा ३, सर्लाहीमा ३, सप्तरीमा ३ र प्रदेश बाहिरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्यस्तै कोरोना संक्रमणबाट यस प्रदेशमा थप एकजनाको मृत्यु भएको छ। यससँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको छ।
पर्साको वीरगंज महानगरपालिका वडा नं. १४ बहुअरी टोल घर भएका ५७ वर्षीय पुरुषलाई ज्वरो तथा स्वास प्रश्वासमा समस्या देखिएपछि कोरोना परीक्षण गर्दा चैत २९ गते संक्रमण पुष्टि भएको थियो। सोही दिनदेखि भेन्टिलेटरमा उपचाररत रहेका संक्रमित पुरुषको वैशाख ५ गते विहान साढे १२ बजे मृत्यु भएको वरिष्ठ चिकित्सक डा. यादवले बताए।
हाल यस प्रदेशमा ५ सय ५४ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमा ३ सय ७८ जना पुरुष र १ सय ७६ जना महिला रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।