हेटौंडा | हेटौंडामा एक जना भारतीय नागरिक भेटिए, जो अहिलेसम्म हेटौंडा बाहेक अन्य सहर गएका छैनन् । उनले हेटौंडालाई नै नेपाल भन्ने बुझेका छन् । उनी हुन् ३८ वर्षीय रुपेश राम । विगत २१ वर्षदेखि रुपेश हेटौंडामा बसेर जुत्ता चप्पल सिलाउँदै अहिले त्रिपाल मर्मत गर्ने काम पनि गर्छन । विशेष गरेर मुख्य राजमार्गमा गुड्ने ट्रकहरुमा हुने ठुला खालका त्रिपालहरु सिलाउने काम उनले गर्दै आएका छन् ।
उनी हेटौंडा–११, स्थित थानाभर्ययाङ तौलपुल नजिकैको खुल्ला स्थानमा काम गर्दै भेटिएका हुन् । भारत रक्सौल घर भएको बताउने उनी नेपाल आएको दुई दशक बढी भइसक्यो । रक्सौल देखि हेटौंडासम्म उनको स्टेशन नै हो ।
आफ्नो काम गर्यो रक्सौल हप्तामा या एक महिनामा घर फर्कियो । यसरी नै उनको २१ वर्ष बित्यो । ‘लामो समयसम्म हेटौंडा बाहेक अन्य सहर घुमेको छैन’ उनले भने । नेपालमा भारतीय नागरिकहरु आएर काम गरेर आफ्नो जिविका चलाउने उनीमात्रै भने हैनन् ।
उनी आजभन्दा २१ वर्ष अगाडि आफ्नो गाउँका एक जना साथीसँग पैसा कमाउन भन्दै नेपाल छिरेका थिए । उनीजस्तै हेटौंडामा कति जना भारतीय नागरिक काम गर्न आएका छन्, यसको कुनै तथ्यांक हेटौंडा उपमहानगरपालिकासँग छैन । उनी अहिले आफ्नो भिनाजु पर्ने व्यक्तिको नामबाट निकालेको सिमकार्ड प्रयोग गर्छन ।
उनले थानाभर्ययाङमा एक कोठा भाडामा लिएका छन् । कहिले त्रिपाल सिलाउने काम गर्छन । कहिले जुत्ता चप्पल सिलाउँछन् । ट्रक, ट्याक्टरमा लगाउने त्रिपाल सिलाउने मुख्य सिजन बर्षातको समय भएको उनको भनाइ छ । ‘वर्षातको सिजनमा काम धेरै हुन्छ । मासिक नेपाली २० हजारसम्म कमाई हुने गर्छ’, रुपेश भन्छन् ।
नेपालमा आएर काम नपाउँदा विगतमा कहिले त भोकै सुतेको दिन पनि उनी सम्झन्छन् । आफ्नो परिवारलाई भने उनले कुनै कुराको कमी नगराएको बताए । तीन जना बालबच्चा र श्रीमती रक्सौल घरमै बस्छन् । उनी भने कहिले १० दिन त कहिले एक महिनामा घर पुग्ने गर्छन् । उनले हेटौंडाको राप्ती रोडमा बसेर १३ वर्षसम्म जुत्ता चप्पल सिलाएका थिए । पछि मात्र त्रिपाल सिलाउने काम सुरु गरेका हुन् ।
आफुले नेपाल आएपछि आफ्नै भान्जा राजेश रामलाई पनि रक्सौलबाट हेटौंडा ल्याएका छन् । २० वर्षका भान्जालाई उनले सँगै काम सिकाएर हेटौंडामा स्थापित गरेका छन् । नेपालसँग खुल्ला सिमाना हुँदा आफुहरुलाई काम गर्न नेपाल आउजाउ गर्न सहज हुने गरेको उनको भनाई छ । नेपालमा कमाएर रक्सौलमा आफ्नो पारिवारलाई खुशिसँग राख्न सकेको रुपेश बताउँछन् ।
‘अहिलेसम्म यही कमाईले परिवारलाई पालेको छु’ उनी भन्छन्, ‘श्रीमतीलाई खुशि राखेको छु । कमाई गरेपछि श्रीमती पनि खुशि हुन्छिन् । जीवन यसरी नै चलेको छ ।’