विश्वमा कोरोना प्यान्डेमिक सुरु भएको १६–१७ महिना भएयता हालसम्म केही लहर आइसके। समाचारमा तेस्रो लहर भनिए पनि यो वास्तवमा कतियौं लहर हो यकिनसाथ भन्न गाह्रो छ।
तर, डब्लुएचओ र वल्र्डमिटरको तथ्यांक हेर्ने हो भने वर्तमान लहर चौथो लहरजस्तो देखिन्छ। पहिलो लहर सन् २०२०को मार्च–अप्रिलतिर आएको थियो।
जब विश्वभर दैनिक ९० हजारजति मानिसलाई संक्रमण हुने गरेको थियो, त्यसपछि केही समय दैनिक संक्रमणको संख्या त्यही अनुपातमा स्थिर रही दोस्रो लहर जुलाई–अगस्टतिर सुरु भई दैनिक २ लाख ५० हजार नयाँ संक्रमित देखा पर्न थाले।
यही स्थिति केही महिना स्थिर रही तेस्रो लहर नोभेम्बरतिर सुरु भयो। तेस्रो लहरको चुचुरो गत वर्षको अन्त्य र यस वर्ष २०२१ को सुरुतिर देखा पर्यो, जुन बेला दैनिक संक्रमित ८ लाखभन्दा धेरै पुगेका थिए।
यसै वर्ष फेब्रुअरीतिर तेस्रो लहर ओरालो लागेर दैनिक नयाँ संक्रमणको संख्या झन्डै आधा जतिमा सीमित भइसकेकामा गत महिनादेखि चौथो लहर सुरु भई वर्तमान लहर झन्डै तेस्रो लहरभन्दा केही मात्र कम संख्यामा पुगिसकेको छ।
तथ्यांकका अनुसार पहिलोभन्दा दोस्रो लहर ३ गुणा र दोस्रोभन्दा तेस्रो लहर ३ गुणा ठूलो थियो। यसैगरी, यदि चौथो लहर बढ्दै गयो भने निश्चय पनि यो तेस्रोभन्दा ३ गुणा ठूलो नभए पनि पक्कै ठूलोचाहिँ हुन्छ।
त्यसपछि विश्व र सम्पूर्ण मानव जातिको अवस्था के होला कल्पनाभन्दा बाहिर हुन सक्छ,. आज सिंगो विश्व र सम्पूर्ण जनताले जान्नु र बुझ्नुपर्ने कुरा यही हो।
दक्षिण एसियामा भने कोरोना प्यान्डेमिकको वर्तमान लहर दोस्रो लहर हो। यस क्षेत्रमा देशैपिच्छे प्यान्डेमिकका लहर फरक–फरक भए पनि समग्रमा वर्तमान दोस्रो लहर यसै वर्ष मार्च सुरुवातीसँगै आएको देखिन्छ, जतिबेला दैनिक २०–२५ हजार नयाँ संक्रमित देखिन्थे।
हाल यो दोस्रो लहर निरन्तर लम्किरहेको छ र पछिल्लो समय दैनिक ९० हजार नयाँ संक्रमण यस क्षेत्रमा देखापरिरहेका छन्। जुन पहिलो लहरको झन्डै बराबरी हो। पहिलो लहरको चुचुरो गत वर्षको सेप्टेम्बरमध्यतिर देखापरेको थियो जतिबेला दैनिक १ लाख नयाँ संक्रमित देखिने गरेका थिए।
यदि, यसै गतिमा नयाँ संक्रमण देखिने हो भने यस क्षेत्रमा पहिलोभन्दा दोस्रो लहर झन् ठूलो हुने निश्चित छ।
भारतमा कोरोना प्यान्डेमिकको पहिलो लहर गत वर्ष सेप्टेम्बरमध्यतिर उच्च बिन्दुमा पुग्दा दैनिक नयाँ संक्रमित ९७ हजारजति देखिएका थिए। गत साता दोस्रो लहर पहिलो लहरको नजिक पुगी दैनिक ८१ हजारभन्दा धेरै नयाँ संक्रमित देखिए।
त्यस्तै, बंगलादेशमा कोरोना प्यान्डेमिकको पहिलो लहर गत वर्ष जून महिनाको अन्त्यतिर उच्च बिन्दुमा पुग्दा दैनिक नयाँ संक्रमण ३ हजार ७ सयजति देखिएका थिए। अहिले दोस्रो लहर त्योभन्दा माथि पुगी दैनिक ५ हजार ३ सयभन्दा धेरै नयाँ संक्रमित देखिन थालेका छन्।
त्यस्तै, माल्दिभ्समा कोरोना प्यान्डेमिकको पहिलो लहर गत वर्ष अगस्ट अन्त्यदेखि सेप्टेम्बरमध्यसम्म उच्च बिन्दुमा पुग्दा दैनिक नयाँ संक्रमित २ सयजति देखिएका थिए। अहिले दोस्रो लहर त्योभन्दा माथि पुगी दैनिक ३ सयभन्दा धेरै नयाँ संक्रमित देखिन थालेका छन्।
त्यस्तै, पाकिस्तानमा गत वर्ष जून मध्यतिर प्यान्डेमिक उच्च हुँदा दैनिक ६ हजार ८ सय नयाँ संक्रमित देखिन्थे भने अगस्ट अन्त्यमा पहिलो लहर निकै न्यून हुँदा दैनिक २–३ सय मात्र नयाँ संक्रमित देखिए। अक्टोबर अन्त्यतिर दोस्रो लहर सुरु भई डिसेम्बर अन्त्यमा उच्च बिन्दुमा पुग्दा दैनिक ३ हजार ८ सयजति नयाँ संक्रमित देखिएका थिए। हाल त्यहाँ तेस्रो लहर सुरु हुँदा दोस्रो लहरभन्दा माथि पुगी दैनिक ४७ सयभन्दा धेरै नयाँ संक्रमित देखिन थालेका छन्।
श्रीलंकामा कोरोना प्यान्डेमिकको पहिलो लहर यसै वर्ष फेब्रुअरीको सुरुतिर उच्च बिन्दुमा पुग्दा दैनिक नयाँ संक्रमित १ हजारजति देखिएका थिए। अहिले दोस्रो लहरमा दैनिक २ सय ६० जति नयाँ संक्रमित देखिन थालेका छन्।
नेपालमा कोरोना प्यान्डेमिकको पहिलो लहर गत वर्ष अक्टोबर तेस्रो हप्तामा उच्च बिन्दुमा पुग्दा दैनिक नयाँ संक्रमित ५७ सयजति देखिएका थिए भने अहिले दोस्रो लहरमा दैनिक १५० जति नयाँ संक्रमित देखिएका छन् तर, यो बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ।
लामो समयसम्म दैनिक संक्रमण शून्य र फाट्टफुट्ट मात्रै देखिने गरेको भुटानमा पनि पछिल्लो समय दैनिकजसो नयाँ संक्रमित देखा परी अप्रिल १ मा एकैदिन १३ जना नयाँ संक्रमित देखापरे।
नेपालमा कोरोना प्यान्डेमिकको पहिलो लहर गत वर्ष अक्टोबर तेस्रो हप्तामा उच्च बिन्दुमा पुग्दा दैनिक नयाँ संक्रमित ५७ सयजति देखिएका थिए भने अहिले दोस्रो लहरमा दैनिक १५० जति नयाँ संक्रमित देखिएका छन् तर, यो बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ।
यसै क्रममा यस अंकमा पनि विगतमा जस्तै विश्व र दक्षिण एसियामा प्यान्डेमिकको स्थिति पछिल्लो अवस्थामा (गत साता) के–कस्तो रह्यो विश्लेषण गरिएको छ–.
पछिल्लो समय, डब्लुएचओका अनुसार गत साताको मार्च ३१, बुधबारसम्म विश्वमा जम्मा १२७८७७४६२लाई यो संक्रमण भइसकेको छ भने २७९६५६१मानिसले यसैका कारण ज्यान गुमाएका छन्। गत हप्ताभन्दा अगाडिको हप्ता अर्थात् मार्च २४ बुधबारसम्म यो संख्या क्रमशः १२३९०२२४२ र २७२७८३७ थियो। त्यस अर्थमा गत हप्ता दुई हप्ताभन्दा अघिको दाँजोमा जम्मा ३९७५२२० नयाँ संक्रमित र जम्मा ६८७२४ नयाँ मृत्यु थपिए अर्थात् गत हप्ताको साप्ताहिक संक्रमण वृद्धि दर ३.२१ प्रतिशत र मृत्यु वृद्धि दर २.५२ प्रतिशत रह्यो। गत हप्ताभन्दा अगाडिको साप्ताहिक संक्रमण वृद्धि दर र मृत्यु वृद्धि दर क्रमशः ३.११ प्रतिशत र २.५३ प्रतिशत थिए र त्योभन्दा अगाडिको हप्ता ती दर क्रमशः २.४१ प्रतिशत र २.११ प्रतिशत थिए।
माथिका तथ्यांकले के देखाउँछ भने पछिल्लो समय विश्वको संक्रमण र मृत्यु वृद्धि दर क्रमशः बढिरहेको छ। चित्र नं.१ ले पनि सो कुराको पुष्टि गर्छ ।. चित्रमा दक्षिण एसियाली तथा केही अन्य देशको एक महिनाभन्दा लामो समय (मार्च १ देखि एप्रिल ३ सम्म)को दैनिक संक्रमण र पोजिटिभिटी दर देखाइएको छ।
चित्रमा देखाइएका अधिकांश देशको संक्रमण दर एक महिनामा निकै बढ्दै गएको देखिन्छ। मूलतः बंगलादेश, पाकिस्तान, भारत र अमेरिकाको संक्रमण दर तीव्र रूपमा बढ्दै गएको छ।
चित्र नं. २ मा दक्षिण एसियाका सबै देशको मार्च २१ देखि अप्रिल ३ सम्मको, दुई हप्ताको, दैनिक कोरोना संक्रमणको प्रवृत्ति देखाइएको छ। दक्षिण एसियामा दुई महिनाभन्दा बढी समयदेखि कोरोना संक्रमित केही बढ्न खोजिरहेकामा पछिल्लो समय यो अझै बढेको देखिन्छ। चित्रमा देखाइएजस्तै दुई हप्ताको दैनिक संक्रमणको प्रवृत्ति हेर्ने हो भने भारतको अवस्था निकै चिन्ताजनक छ। फेब्रुअरीको सुरुमा त्यहाँ दैनिक ११ हजारजति नयाँ संक्रमित देखिने गरेकामा पछिल्लो समय, वल्र्डमिटर र डब्लुएचओका अनुसार दैनिक झन्डै ९० हजारभन्दा धेरै नयाँ संक्रमित देखिन थालेका छन्। त्यस्तै, पाकिस्तान र बंगलादेशको प्रवृत्ति पनि उस्तै देखिन्छ।
फेब्रुअरीको सुरुमा ती देशमा क्रमशः दैनिक १५ सय र ४ सय नयाँ संक्रमित देखिन्थे भने पछिल्लो समय ती देशमा क्रमशः दैनिक ४७ सय र ५६ सयजति नयाँ संक्रमित देखिन थालेका छन्।
नेपाललगायत अन्य देशमा भारत, पाकिस्तान र बंगलादेशको तुलनामा दैनिक संक्रमण संख्या निकै कम देखिन्छ जसले गर्दा चित्रमा राम्ररी देखिँदैन तर ती देशमा पनि पछिल्लो समय दैनिक कोरोना संक्रमण बढ्दै गएको देखिन्छ।
चित्र नं. ३ मा दक्षिण एसियाका सबै देशको मार्च २१ देखि अप्रिल ३ सम्मको, दुई हप्ताको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाइएको छ। दक्षिण एसियामा डेढ महिनादेखि कोरोना मृत्यु केही बढ्न खोजेको देखिन्छ भने पछिल्लो समय यो अझै तीव्र गतिमा बढेको छ. दुई हप्ताको दैनिक मृत्युको प्रवृत्ति हेर्ने हो भने चित्रमा देखाइएजस्तै भारतको दैनिक मृत्यु प्रवृत्ति दैनिक संक्रमणजस्तै बढ्ने क्रममा देखिन्छ।
पछिल्लो समय भारतमा दैनिक मृत्यु दैनिक संक्रमणसँगै समानान्तर रूपले बढ्दै गएको देखिन्छ। वल्र्डमिटर र डब्लुएचओका अनुसार फेब्रुअरीको सुरुमा भारतमा दैनिक सयजति नयाँ मृत्यु देखिने गरेकामा पछिल्लो समय दैनिक ४ सय– ७ सय नयाँ मृत्यु देखिन थालेको छन्। पाकिस्तान र बंगलादेशमा पनि दैनिक मृत्युको प्रवृत्ति त्यही प्रकृतिका देखिएका छन्।
सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टरद्वारा जारी गरिएको विवरणअनुसार दक्षिण एसियामा अप्रिल १ सम्म १३९७०८७६ जना कोरोना संक्रमित भइसकेका छन् भने १९२७३८ जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्। त्योभन्दा अगाडिको हप्ता अर्थात् मार्च २५ सम्म यी संख्या क्रमशः १३४४९४७४ र १८९४९६ थिए। त्यस अर्थमा दुई हप्ता अगाडिको तुलनामा गत हप्ता जम्मा ५२१४०२ जना नयाँ कोरोना संक्रमित र ३ हजार २ सय ४२ जना नयाँ मृत्यु थपिए जसको अर्थ हो– दक्षिण एसियामा एक हप्ताको कोरोना संक्रमण वृद्धि दर ३.८८ प्रतिशत र कोरोना मृत्यु वृद्धि दर १.७१ प्रतिशत रह्यो ।
गत हप्ताभन्दा अगाडिको साता साप्ताहिक संक्रमण वृद्धि दर र मृत्यु वृद्धि दर क्रमशः २.७४प्रतिशत र १.०७ प्रतिशत थिए। यसरी विश्वमा जस्तै दक्षिण एसियामा पनि फेरि एक पटक कोरोना प्यान्डेमिकले आतंक मच्चाउन थालेको देखिन्छ।
यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गत हप्ता, सन् २०२१ मार्च २८ देखि अप्रिल ३ (वि.सं. ०७७ चैत १५ देखि २१सम्म) ७ दिनको विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यसले खमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन् जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, ओल्र्डाेमिटर, आवर ओल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर, लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठक वर्गसमक्ष पु र्याउनु हो।
गत हप्ता पनि प्यान्डेमिकका तथ्यांक विश्वभरि र नेपालमा पनि उतारचढाब हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकका आधारमा गत साता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरिहेरौं।
दैनिक नयाँ संक्रमण
यो हरेक दिन नेपालमा देखिएको या देखिने नयाँ संक्रमितको संख्या हो। गत हप्ता सन् २०२१मार्च २८ देखि अप्रिल ३ (०७७ चैत १५ देखि २१सम्म) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमितको संख्या चित्र न.४मा प्रस्तुत गरिएको छ।
चित्रमा देखाइएजस्तै जम्मा परीक्षणको संख्यासँगै पोजिटिभिटी दर (संक्रमण दर) पनि बढिरहेको छ। यस्तो अवस्थामा धेरैभन्दा धेरै परीक्षण गरी लुकेर बसेका संक्रमित पत्ता लगाई क्वारेनटाइनमा राख्नुपर्छ। तर, प्यान्डेमिक फेरि पनि बढ्न खोजिरहेका बेला, चित्रमा देखाइएजस्तै, दैनिक परीक्षणमा खासै वृद्धि गरिएको छैन।
नेपलामा दैनिक परीक्षण निकै कम मात्रामा गरिँदै आएको हुनाले प्यान्डेमिकको वास्तविक अवस्था यकिनसाथ भन्न नसकिए पनि नेपालमा संक्रमितको संख्या बढ्दै गएको तथ्य स्पष्ट छ। चित्रमा धेरै परीक्षण गरिएको दिन नयाँ संक्रमण पनि धेरै देखिने प्रवृत्ति देखिएको हुनाले प्रशस्त परीक्षण गरिए वास्तविक संक्रमण पनि अहिलेकोभन्दा धेरै हुने निश्चित छ। यस्तो अवस्थामा प्रशस्त परीक्षण गरी प्यान्डेमिकको सही मापन र व्यवस्थापन गरी एकातिर जनस्वास्थ्यको सुरक्षा गर्नु जरुरी छ भने अर्कोतिर सामाजिक जनजीवन तथा आर्थिक गतिविधिलाई पनि निरन्तरता दिनु अत्यावश्यक छ।
नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत साता सात दिन, चैत २१ गते शनिबारसम्म देशभरि जम्मा १०१८ जना नयाँ संक्रमित थपिई संक्रमितको संख्या २७७७६८ पुगेको छ। गत हप्ताभन्दा अगाडिको हप्ता जम्मा संक्रमितको संख्या २७६७५० थियो। जसको अर्थ हो दक्षिण एसियामा एक हप्ताको कोरोना संक्रमण वृद्धि दर ०.३७ प्रतिशत रह्यो। त्योभन्दा अगाडिको हप्ता सात दिन, चैत ७ गतेदेखि चैत १४ गते शनिबारसम्म देशभरि ९२१ नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या २७६७५० पुगेको थियो। माथि उल्लेख गरिएजस्तै ३ हप्तामा नेपालमा नयाँ संक्रमणको साप्ताहिक वृद्धि ६५१ बाट ९२१ र ९२१ बाट १०१८ पुगेको छ।
त्यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या गत हप्ता जम्मा ५ रह्यो भने त्योभन्दा अगाडिको हप्ता ११ र त्योभन्दा अगाडिको हप्ता २ थियो।
चित्र नं.५ ले नेपालको देशभरिको जम्मा दैनिक संक्रमण र काठमाडौँ उपत्यकाको जम्मा दैनिक संक्रमणको तुलनात्मक विश्लेषण देखाएको छ। चित्रमा देखाइएजस्तै गत हप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको ५२ प्रतिशतजति देखिन्छ अर्थात् आधाभन्दा धेरै देखिन्छ। दुई हप्ता अगाडिको हप्ता काठमाडौँको कोरोना संक्रमण समग्र नेपालको करिब ५१ प्रतिशत थियो।
केही हप्तादेखि काठमाडौँबाहेक कास्कीमा पनि प्रशस्त कोरोना नयाँ संक्रमण देखिन थालेको छ। गत हप्ता कास्कीमा १३४ नयाँ संक्रमण देखिए जुन देशभरिको जम्मा नयाँ संक्रमणको १३.३प्रतिशत हो। गत हप्ताभन्दा अगाडिको साता कास्कीमा १४९ नयाँ संक्रमण देखिएका थिए जुन देशभरिको जम्मा नयाँ संक्रमण १६ प्रतिशत थियो।
दैनिक संक्रमण (पोजिटिभिटी) दर,
प्यानडेमिकको मापदण्डमध्ये पोजिटिभिटी दर (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ। पोजिटिभिटी दरबारे गएका अंकमा विस्तृत जानकारी गराइसकेको छ। त्यसका लागि कृपया यस शृंखलाका गएका अंक पनि हेर्नुहोला ।
चित्र नं. ६ ले नेपालको २ हप्ताको दैनिक संक्रमण दर देखाएको छ।
२ हप्तामा नेपालको प्यान्डेमिक केही बढ्न खोजेको देखिन्छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ३.६१ प्रतिशतदेखि अधिकतम ५.३२ प्रतिशतसम्म रही साताभरिको औसत पोजिटिभिटी दर४.५ प्रतिशत रह्यो। दुई हप्ता अगाडिको पोजिटिभिटी दर २.४२प्रतिशत र४.६६प्रतिशतबीच रही त्यो साताको औसत पोजिटिभिटी दर ३.५५ प्रतिशत रहेको थियो। त्योभन्दा अगाडि साताको औसत पोजिटिभिटी दर ३.१६ प्रतिशत थियो।
यसरी पोजिटिभिटी अर्थात् संक्रमण दर पनि हरेक हप्ता ३.१६ प्रतिशतबाट ३.५५ प्रतिशत र पछिल्लो समय गत हप्ता ४.५प्रतिशत पुगी नेपालमा कोरोना संक्रमण क्रमशः बढ्दै गएको लक्षण देखाउँछ। स्मरण रहोस् डब्लुएचओका अनुसार पोजिटिभिटी ५ प्रतिशतभन्दा धेरै हुनु प्यान्डेमिक अनियन्त्रित भएको लक्षण हो।
गत हप्ता देशभरि जम्मा २२७८७ परीक्षण गरियो भने त्योभन्दा अगाडिको हप्ता जम्मा २५७०० र त्योभन्दा अगाडिको हप्ता जम्मा २०५४९ परीक्षण गरिएका थिए। यसरी नेपालमा हरेक दिन फरक–फरक संख्यामा कोरोना परीक्षण गरिँदै आइए पनि साप्ताहिक रूपमा जम्मा परीक्षण गत हप्ता त्योभन्दा अगाडिको हप्ताभन्दा कम गरिएको छ। प्यान्डेमिकको बेला संक्रमण बढेसँगै परीक्षण पनि बढाउँदै लैजानुपर्ने अवस्थामा त्यसो नगरिनु भविष्यका लागि जोखिमपूर्ण हुन सक्छ। नेपालमा दैनिक औसत ३२५५ मात्रै परीक्षण गरिँदै आएको छ।
माथिका तथ्यांकबाट के देखिन्छ भने पछिल्लो समय अधिकांश दक्षिण एसियाली देशमा प्यान्डेमिकको अवस्था केही अनियन्त्रित हुँदै गई दैनिक संक्रमण तथा दैनिक मृत्युमा वृद्धि भएको देखिन्छ। नेपालमा पनि दैनिक कोरोना संक्रमणको स्थिति त्यस्तै देखिन्छ जुन तीन साता अघिसम्म थिएन। विशेष गरी पछिल्लो समय भारत, बंगलादेश र पाकिस्तानमा तीव्र गतिमा नयाँ संक्रमणमा आएको वृद्धिले प्यान्डेमिकको दोस्रो लहर झन्डै पहिलो लहरको हाराहारीमा पुगेको छ।
तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई भुल्ने बेला भइसकेको छैन। विशेष गरी नेपाल र छिमेकी राष्ट्रमा कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको हुनाले नेपालले कोरोना प्यान्डेमिकलाई नियन्त्रण गर्न र छिमेकबाट संक्रमण आयातित हुनबाट रोक्न सम्पूर्ण प्रयास गर्नुपर्ने देखिन्छ।
नेपाली जनताले पनि प्यान्डेमिकको पछिल्लो यथार्थ बुझी आफ्नोतर्फबाट गर्न सक्ने होसियारी तथा सतर्कता हरपल यथाशक्य पालना गर्नुपर्छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ।
यस शृंखला तथा यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।
(डा. श्रेष्ठ ग्वार्को ललितपुरस्थित बीएन्डबी अस्पतालमा कन्सल्टेन्ट न्यूरो सर्जन तथा कोभिड ज्ञाता हुन्।)