काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा अर्बौँ रुपैयाँ मूल्य भएको भनी प्रहरीले सार्वजनिक गरेको ‘युरेनियम’ बरामदको अनुसन्धान रेडियोधर्मी पदार्थमा मात्र सीमित बनेको छ।
काठमाडौँ प्रहरी परिसरले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ। सुरुमा विस्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान गरेको प्रहरीले आवश्यक प्रमाण जुटाउन नसकेपछि रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन,२०७७ अनुसार सजाय मागदावी गर्न सरकारी वकिल कार्यालयलाई राय दिएको छ।
प्रहरीले फागुनको अन्तिम साता बौद्धमा चार जनालाई पक्राउ गरेको थियो करिब अढाइ केजी ‘युरेनियम’ कच्चा पदार्थसहित। प्रहरीले युरेनियमको कच्चा पदार्थ (युरेनियम-२३८) भएको दाबी गरेको थियो। प्रहरीले भनेको थियो- अन्तर्राष्ट्रिय बजारमा प्रशोधित युरेनियम (युरेनियम-२३५)को मुल्य प्रति १० ग्राम १८ करोड नेपाली रुपैयाँ पर्छ।
विज्ञान तथा प्रविधि प्रतिष्ठान-नास्टले बरामद बस्तु रेडियोधर्मी भएको र विकिरणको प्याटर्न युरेनियमसँग मिल्दोजुल्दो भएको रिपोर्ट दिएको थियो। तर नास्टले बरामद बस्तुमा युरेनियमको मात्रा खुलाउन सकेन। त्यति मात्र होइन, प्रहरीले बरामद पदार्थ कहाँबाट कसरी भित्रिएको थियो र कहाँ लगिँदै थियो भन्नेबारे कुनै ठोस प्रमाण जुटाउन सकेन।
प्रहरीको अनुसन्धान पक्राउ परेका अभियुक्तको बयानमै सीमित भयो। नेपालमा यसअघि कहिल्यै युरेनियम पदार्थ बरामद भएको छैन, न त यहाँ कहिल्यै यसको सरकारीस्तरमा उत्खनन् तथा प्रशोधन नै भएको छ। प्रशोधित युरेनियम आणविक हतियार र विजुली उत्पादनमा प्रयोग हुन्छ जसको पूर्वाधार नेपालमा देखिँदैन। तर नेपालमा पनि युरेनियमको खानी हुन सक्ने सरकारी निकायकै दावी छ।
यो अवस्थामा युरेनियमसँग मिल्ने रेडियोधर्मी पदार्थको अनुसन्धान सामान्य तरिकाले सम्पन्न हुनु दुर्भाग्यपूर्ण भएको नास्टका एक विज्ञ बताउँछन्। ‘ हामीसँग युरेनियमको मात्रा छुट्याउन सक्ने क्षमता छैन भनेर हामीले जवाफ पठाएका थियौँ’, ती विज्ञले भने। युरेनियम नै हो की होइन भन्ने स्पष्ट हुन नसकेपछि प्रहरी विस्फोटक पदार्थ सम्बन्धी कसुरबाट रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन,२०७७ मा ‘सिफ्ट’ भएको हो। यो ऐन गत असार ११ गते जारी भएको हो।
प्रहरीले अभियुक्तविरुद्ध ५ देखि १० वर्षसम्म कैद सजाय र ७ लाखदेखि १२ लाख रुपैयाँसम्म जरिवाना माग दावी गर्न सरकारी वकिल कार्यालयलाई राय दिएको छ। ऐनको दफा ४७ को उपदफा ‘ख’मा उल्लेखित ‘ यो ऐन बमोजिम इजाजतपत्र नलिई वा इजाजत पत्रमा उल्लेखित शर्त वा यस ऐन विपरित रेडियोधर्मी पदार्थ, तत्सम्बन्धी उपकरणको उत्पादन, सङ्कलन, भण्डारण, सन्चय, निकासी, पैठारी, ढुवानी, ओसारपसार, विसर्जन वा फैलावट गर्ने, कुनै संयन्त्र विकाश वा सन्चालन गर्ने, रेडियोधर्मी फोहोरमैला निकासी, पैठारी वा व्यवस्थापन गर्ने लगायतका क्रियाकलाप वा अभ्यास सन्चालन गर्ने,गराउने’ कसुर उनिहरुले गरेको प्रहरीको ठहर छ।
यो कसुर गर्नेविरुद्ध रेडियोधर्मी पदार्थ जफत गरि ५ देखि १० वर्षसम्म कैद सजाय र ७ लाखदेखि १२ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
प्रहरीले उक्त बस्तु राखिएको घरकी मालिक जानुका तामाङ र बिक्री गर्न सक्रिय रहेको आरोपमा अन्य तीन जनालाई पक्राउ गरेको थियो। जानुकाले आफ्ना ससुराले भारतमा युरेनियम उत्खनन् गर्दा २०/२५ वर्ष अघि चिनोका रुपमा उक्त बस्तु घरमा ल्याएर राखेको बयान दिएकी छिन्।
‘ससुराले २०४७/४८ सालतिर ल्याउनु भएको रहेछ। २०५१ सालतिर घर बनाएको हो। त्यसको पाँच वर्षपछि मात्र विवाह भएर म उहाँहरुको घरमा भित्रिएकी हुँ’, जानुकाले भनेकी छिन्। उनका ससुरा र श्रीमान हाल अमेरिकामा छन्। ससुरा अम्बरलाई प्यारालाइसिस भएको र स्वास्थ्य अवस्था कमजोर रहेको जानुकाले बताएकी छिन्।