इजिप्ट । स्वेज नहरमा अड्किएर बसेको इभर गिभन कन्टेनरजहाज हटाउन मद्दत गरेबापत इजिप्टका अधिकारीहरुले १ अर्ब डलरभन्दा बढी रकम क्षतिपूर्ति माग गर्ने बताइएको छ । तर यो क्षतिपूर्ति कोसँग माग्ने भन्ने द्विविधा आधिकारीहरुसमक्ष रहेको छ ।
सो रकम नहरमा जहाज फसेर बाटो अबरुद्ध हुँदा आम्दानीमा आएको कमी, अनि जहाज हटाउन चाहिएका उपकरण र यन्त्रको लागत र श्रमशक्ति आदिमा आधारित रहेको बताइएको छ ।
आफूहरुले निष्पक्ष रकम माग गर्ने स्वेज नहर प्राधिकरणका अध्यक्ष तथा प्रवन्ध निर्देशक ओसामा राबीले बताए । तर उनले क्षतिपूर्ति कोसँग लिने भन्ने चाँहि खुलाएका छैनन् ।
जहाजलाई ठूलो क्षति वा हानी बिना नै उद्दार गरेर आफूहरुले धेरै बचाइदिएको पनि उनले बताए । जहाज नहरको किनारमा अड्किएको छैठौं दिनमा गत सोमवार यसलाई निकाल्ने प्रयास सफल भएको थियो । यस क्रममा दिनँहु नहरको दुवैतर्फ ९ अर्ब डलरभन्दा बढीका सामान बोकेका कन्टेनर जहाजहरु जाममा परेका थिए ।
शनिवारसम्ममा जाम पूर्ण रुपमा हटिसकेको भएपनि यसले बन्दरगाहहरुमा दीर्घकालीन प्रभाव पार्न सक्ने र विश्वको आपूर्ति शृंखलामा पनि असर गर्न सक्ने अधिकारीहरुले बताएका छन् । क्षतिपूर्ति सम्झौतामा दुईदेखि तीन दिनभित्र पुग्न सकिने बताइएको छ । निश्चित प्रकारको क्षतिपूर्तिमा सहमति भएन भने आफूहरुले अदालतको साहारा लिने चेतावनी राबीले दिएका छन् ।