वीरगंज | पूर्ण रुपमा स्वस्थ रहनका लागि शरीर, मन र आत्मा तीनै पक्षलाई ध्यान दिन आवश्यक छ। कोरोना महामारीबीच घरमै बसेर पनि स्वस्थकर जीवनशैली अपनाउन सकिन्छ। दीर्घकालीन रोगले ग्रसित र ६५ वर्षभन्दा माथिका व्यक्तिले मात्र नभई जवान स्वस्थ व्यक्तिले समेत व्यायामलाई समय दिनुपर्छ। फोन र टिभीमा मात्र समय व्यतित गर्नुको सट्टा आफ्ना बाल-बच्चालाई समेत आफूसँगै रोचक तरिका अपनाउँदै व्यायाममा लगाउनुपर्छ।
व्यायामका फाइदा
• रोग प्रतिरोधात्मक क्षमता बढाउने
• अंग-प्रत्यंग सक्रिय र बलियो राख्ने
• मनोवैज्ञानिक सन्तुलन कायम राख्ने
• तनावमुक्त बनाई राम्रो निद्रा लाग्ने
• आत्मबल बढाउने र आत्मसन्तुष्टि कायम गर्ने
केही सरल तर हामीले मतलब नगरेका व्यायामहरु जुन कोभिड नलागेकाले र लागेर निको भइसकेका व्यक्तिहरूले समेत सावधानी साथ फिजियोथेरापिस्टको उचित परामर्श लिई गर्न सक्छन्।
शारीरिक व्यायाम
मांसपेसीका लागि
१. मांसपेसी तन्काउने व्यायाम: घाँटी, कम्मर, हात-खुट्टा तन्काउने।
२. मांसपेसी बलियो बनाउने व्यायाम: स-साना भार उचाल्ने, पुस-अप, स्क्वाट, लन्जेज आदि।
३. सन्तुलन राख्ने व्यायाम: एक खुट्टामा उभिने, बल एक्सरसाइज आदि।
४. लामो समय एउटै पोजिसनमा नबस्ने र आफू बसेको पोस्टर सही छ या छैन ध्यान दिने नत्र बस्दा बस्दै पनि अनेक समस्या निम्तिन्छ।
मुटुका लागि
१. आफ्नो आँगनमा हिँड्ने: ३०-४५ मिनेट प्रतिदिन हिँड्ने अथवा जगिङ गर्ने। कम्तीमा ७०००-१०००० पाइला प्रतिदिन शारीरिक सक्रियताको परिभाषा हो।
२. घरको सिँढी माथितल हिँड्ने: कम्तीमा २-३ पटक प्रतिदिन १०-१५ मिनेट (घुँडाको समस्या नभएमा)।
३. स्किपिङ, नृत्य, एरोबिक्स आदि।
श्वासप्रश्वासका लागि
यी व्यायाम कोभिडको संक्रमणबाट निको भइसकेका स्वस्थ र श्वास फेर्नमा समस्या भएका व्यक्तिले सावधानी साथ फिजियोथेरापिस्टको उचित परामर्शमा अवलम्बन गर्न जरुरी छ।
– गहिरो श्वास: एउटा हात छाती र अर्को पेटमा राखी फोक्सो र पेटको चाल महसुस गर्दै नाकले लामो श्वास तान्ने,५ सेकेन्ड रोक्ने र ओठलाई सिठी बजाएको जस्तो गरी विस्तारै बाहिर फ्याल्ने। श्वास तान्दा पेट फुल्छ र छोड्दा खुम्चिन्छ।
– हमिङ: नाकले लामो श्वास तान्ने र जिब्रोलाई मुखको तालुमा राखेर माहुरी कराएको जस्तो गरी ध्वनि निकाली श्वास बाहिर फ्याल्ने। यस प्रक्रियाले नाइट्रिक अक्साइडको उत्पादन बढाई नशा प्रणाली, रक्त सञ्चालन र अक्सिजन फ्लो राम्रो गर्छ।
– मुस्कुराउने: हात दुवै साइड तन्काएर लामो हाई गर्ने र हात तल झारेर ३ सेकेन्ड मुस्कुराई श्वास बाहिर फ्याल्ने। एक मिनेटसम्म यो प्रक्रिया दोहोर्याउने।
यी व्यायामले छातीको मांसपेसीलाई खुलाउँछ, डायफ्रामलाई तन्किने ठाउँ दिन्छ,फोक्सोको चाल,गतिविधि र कार्यलाई राम्रो बनाउँछ।
मानसिक व्यायाम
शरीर ठिक तर मानसिक तनाव छ भने मानिसलाई मनको बाघले खान सक्छ। जस्तोसुकै परिस्थितिमा पनि मनोबल उच्च राख्ने अभ्यास गर्नुपर्छ।
– सकारात्मक सोच राख्ने, ग्राम्य कथामा बढी चासो नदिने
– दैनिक प्रेरणादायक किताब अध्ययन गर्ने
– मन शान्त पार्ने म्युजिक श्रवण गर्ने
– सिर्जनशील कार्यमा मन लगाउने
– आफ्नो परिवार, इष्टमित्रसँग मनको कुरा राख़्ने
आध्यात्मिक व्यायाम
माछालाई पानी जस्तै हाम्रो जीवनलाई आध्यात्मिकता आवश्यक छ। समाजको कर्तव्यबीच अध्यात्मिकतालाई बिर्सिनु हुन्न।
– दैनिक बिहान ध्यान र प्राणायाम गर्ने
– आफ़नो श्रद्धा अनुसारको मन्त्र जपलाई समय दिने
– आध्यात्मिक शास्त्र अध्ययन गर्ने
– सात्विक आहार सेवन गर्ने
अत: आलश्यपन र निष्क्रियता हटाई शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा घरमै बसी सक्रिय बनौं स्वस्थ रहौं। विश्व भौतिक चिकित्सा दिवस- २०२० को शुभकामना।
(मुलेपति फिजियोथेरापिष्ट हुन्।)