बर्दिबास । कहाँ छन् घाँस काट्न गएकी ७ जना किशोरी ? घाँस काट्न चौरीमा गएकी किशोरीहरु अबेर रातीसम्म घर नफर्किपछि परिवारजनमा चिन्ता बढेको छ । मंगलबार दिउँसो गाउँ नजिकैको अजगेबास्थित चौरीमा महोत्तरीको भंगहा– ८ धर्मपुरका ७ जना बालिकात तथा किशोरीहरु घाँस काट्न गएकी थिइन् । उनीहरु हालसम्म परिवारजनको सम्पर्कमा आएका छैनन् ।
सम्र्पक विहिन हुनेहरुमा ११ बर्षीय अर्चना पासमान, १२ बर्षीय सीमा र रञ्जना पासमान, १३ बर्षीय ज्योती र रिया पासमान, १७ बर्षीय नगिना पासमान र २० बर्षीय अस्मिता पासमान रहेका भंगहा नगरपालिकाका मेयर संजिव कुमार साहले बताए ।
उनीहरु २ बजेतिर घाँस काट्न घरबाट निस्किएका थिए । चार बजे खेतमै रहेको बोडिङ्गमा पानी खाएको गाउँलले देखेका थिए । तर, उनीहरु यो समाचार बनाएँदासम्म घर फर्केका छैनन् ।
गाउँले तथा प्रहरी टोली टर्च बालेर बालिका तथा किशोरीहरुको खेतखेतमा खोजी गरिरहेका छन् । उनीहरु सम्पर्क विहिन बनेपछि परिवारजन रोइरहेका छन् ।
बालिकाहरुलाई कसैले बन्धक बनाएको हुन सक्ने गाउँले आशंका गरेका छ ।
सम्पर्क विहिन भएको बालिकाहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए । ‘जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर रजोस घिमिरेको नेतृत्वमा लोहारपट्टी प्रहरी चौकी र भंगहा प्रहरी चौकीका प्रहरी टोली परिचालित छन्,’उनले भने ।भंगहा शसस्त्र वेश क्यापबाट पनि शसस्त्र प्रहरी खोजीमा खटिएका छन् ।