वीरगंज। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विवादास्पद बंगलादेश भ्रमणको विरोधमा बंगलादेशमा भएका विरोध प्रदर्शनमा प्रहरीले गरेको दमनमा परी कम्तिमा १२ जना प्रदर्शनकारीको मृत्यु भएको छ। मोदीले शुक्रबार ढाकाको दुई दिने भ्रमण गरेका थिए। मोदी शनिबार दिल्ली फर्किसकेका छन्। तर उनको भ्रमणको विरोधमा आइतबार पनि बंगलादेशमा व्यापक विरोध प्रदर्शन भएको बीबीसीले जनाएको छ। आइतबार थप २ जना प्रदर्शनकारीको मृत्यु भएको छ।
विगत तीन दिनमा बंगलादेशमा प्रदर्शनमा मारिने प्रदर्शनकारीको संख्या १२ पुगेको बीबीसीले जनाएको छ। भारतमा मोदी सरकारले ल्याएको कानुनले अलपसंख्यक मुस्लिमहरुमाथि ज्यादती भएको भन्दै बंगलादेशमा मोदी सरकारको विरोध हुँदै आएको छ। बंगलादेशका संस्थापक शेख मुजिब उर रहमानको सयौं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मोदी ढाका पुगेका हुन्। मोदीको ढाका भ्रमण तय भएसँगै बंगलादेशमा विरोध प्रदर्शन शुरु भएको थियो।
उता मोदीको भ्रमणको विरोध भएपछि बंगलादेशमा सामाजिक सञ्जाल फेसबुकमाथि नियन्त्रण गरिएकोसमेत खुलासा भएको छ। फेसबुकले एक बयान जारी गर्दै बंगलादेशमा फेसबुकलाई सिमित पारिएको बताएको थियो। तर बंगलादेशी सरकारले मोदीको भ्रमणलाई उच्च महत्व दिएको थियो। मोदीले पनि बंगलादेशलाई भारत सरकारले गर्ने विभिन्न सहयोगको घोषणा गरेका थिए। तत्कालिन पाकिस्तानलाई टुक्र्याएर बंगलादेश निर्माण गर्नमा भारतको प्रमुख हात रहेको छ। भारतले नै पाकिस्तानलाई टुक्र्याँदै बंगलादेश निर्माणका लागि पाकिस्तानसँग युद्ध गरेको थियो।