वीरगञ्ज | सवारीसाधनको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जका जनावर मर्ने क्रम बढेको छ। बिहीबार एउटा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ। बाराको महागढीमाई नगरपालिकास्थित हुलाकी सडकखण्डमा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ।
महागढीमाई नगरपालिका वडा नम्बर २ स्वस्थानी पेट्रोलपम्प नजिकै सडक छेउमा चितुवाको बच्चा मृत अवस्थामा फेलापरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। चितुवा कसरी मर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको मिश्रले बताए।
राजमार्गमा तीब्र गतिका सवारीसाधनको ठक्करबाट निकुञ्जका जनावरहरु मर्ने गरेको पाइएको छ। यसअघि सोमबार पनि दुई वटा चित्तलको बच्चा मृत अवस्थामा फेला परेका थिए।
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित आधाभार जंङ्गलको सडकमा सोमबार बिहान चित्तलको दुई वटा बच्चा मृत अवस्थामा फेला परेका थिए।
यस्तै गत पुस १८ गते निकुञ्ज अन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गका पथलैया–अमलेखगंज सडकखण्डको आधाभारमा हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा १६ च ८११ नम्बरको कारको ठक्करबाट एउटा पोथी बाघको मरेको थियो।
जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर–१ स्थित सडकमा निकुञ्जबाट बिहान साढे ७ बजे बाटो कट्ने क्रममा तीब्र गतिमा रहेको कारले ठक्कर दिँदा पोथी बाघको घटनास्थलमै मृत्यु भएको थियो।
कार चालक काठमाडौँ महानगरपालिका–२४ नयाँ बानेश्वर बस्ने अजय कुमार मिश्रलाई नियन्त्रणमा लिइ पर्सा राष्ट्रिय निकुञ्जले अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको छ।
यसैगरि पर्साको बहुदरमाई नगरपालिकामा गत आइतबार एउटा चितुवा अवस्थामा फेला परेको थियो। मृत चितुवालाई पर्सा राष्ट्रिय निकुञ्जबाट आएको टोलीले मुचुल्का गरी बुझेको र घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
गत साउन महिनादेखि हालसम्म १० वटा जनावरको बाटो काट्ने क्रममा सवारीसाधनको ठक्करबाट मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रमेश कुमार यादवले जानकारी दिए।
साउनदेखि हालका दिनसम्म चितुवा एक, चितल पाँच, एउटा पोथी बाघ र तीन वटा बाँदर राजमार्गमा तीब्र गतिमा गुड्ने सवारीको ठक्करबाट मरेका उनले बताए।
अहिले गर्मीको मौसम सुरु भएसँगै जंगलमा पानीको अभाव भएर पानी खोज्दै जनावरहरु बाहिर निस्किने गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रको भनाइ छ। उनले बाहिर निस्किने जनावरहरु सवारीसाधनको ठक्करबाट मर्ने गरेको बताए।
‘जंगलमा पानीको मुहान सुकेर पानीको अभाव भयो। पानी खोज्दै जनावरहरु प्रायः बाहिर निस्कने गरेका छन्,’ उनले भने, ‘राजमार्गमा चल्ने तीब्र गतिका सवारीसाधनको ठक्करसँगै अन्य कारणले पनि जनावरहरु मरेका छन्।’deshsanchar