सप्तरी । राजविराजस्थित शनिदेव मन्दिरमा नवौं पटक चोरी भएको छ । पछिल्लो पल्ट मंगलबार राती चोरले मन्दिरको ढोका फोडेर दान पेटिकामा रहेको करिब ९ हजार रुँपैया चोरी गरि फरार भएका छन् ।
यसअघि पनि पटक पटक गरि उक्त मन्दिरमा ८ पटक चोरी हुँदा समेत चोर पक्राउ नपरेको मन्दिरका मूल पुजारी रामनाथ शर्माले बताएका छन् । पूजापाठ सकाएर राती घर गएका मूल पूजारी शर्मा बुधबार बिहान आउँदा मन्दिरको ताला र दान पेटिका फुटाएर चोरी भएको थाहा पाएका थिए ।
पछिल्लो पटक सात महिना अघि पनि मन्दिरको ताला फुटाएर चाँदीको मुकुट, सिक्रि लगायतका गरगहाना र दान पेटिका चोरले लिएर जाँदा मन्दिरको छेउमै रहेको पसलको सिसि क्यामरामार्फत चोरको पहिचान भएपनि अहिलेसम्म पक्राउ नपरेको र चोरको मनोबल बढ्दै गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम झाको भनाई छ ।
हाल सिसि क्यामरा समेत बिग्रेको अवस्थामा चोरले दान पेटिकाको रकम लिएर गएकाले पत्ता लगाउन झनै कठिन हुने स्थानियको भनाई छ । चोरी घटना बारे खबर पाएपछि पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।