सर्लाही | संरक्षणको अभावमा सर्लाहीको चन्द्रनगरस्थित नाढीमन ताल जीर्ण बन्दै गएको छ। आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा रहेको चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ र ७ को संगममा पर्ने नाढीमन ताल संरक्षणको अभावमा ताल वरपर निर्माण गरिएका संरचना जीर्ण बनेको हो। केही वर्षअघि नेपाली सेनाले बोटिङको व्यवस्थासहित ताल परिसरमा विभिन्न पर्यटकीय संरचना निर्माण गरेर स्थानीय समुदायलाई हस्तान्तरण गरेको थियो।
तालको माछा ठेक्काबाट मात्रै वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ। तर, गाउँपालिकाले तालको संरक्षणमा उचित ध्यान नदिएको स्थानीयको गुनासो गरेका छन्। उहाँ उत्पादित माछा देशका प्रमुख सहरमा पु¥याइन्छ। ताल परिसरमा ठेकेदारका माछा मार्ने कामदारबाहेक अन्य नदेखिने स्थानीयहरु बताउँछन्। यो ताल अहिले गाउँपालिका मातहत छ।
तालमा रहेका दुईवटा मोटरबोट र १० वटा प्याडल डुंगा बिग्रिएर काम नलाग्ने भएको छ। स्थानीय सुकदेव सिंह दनुवारका अनुसार डुंगा बिग्रिएर थन्किएको महिनौँ भइसकेको छ। सरसफाइ नहुँदा ताल परिसर कुरुप बनेको छ। पहिले ताल अवलोकन गर्न दैनिक सयौं पर्यटक आउने गरेका थिए। तर, अहिले ताल क्षेत्र सुनसान रहेको दनुवार बताउँछन्।
गाउँपालिकाका प्रमुख महेन्द्र महतोले मोटर बोट र प्याडल डुंगा सञ्चालनका लागि दुईपटक सूचना जारी गरे पनि ठेक्का लाग्न नसकेको बताउँछन्। लकडाउनको समयमा ७÷८ महिना डुंगा त्यसै थन्किएको प्रमुख महतोले बताए। मर्मत सम्भार नहुने भएकाले बिग्रिएका डुंगा चलाउन नसकिएको उनको भनाइ छ।
स्थानीय ८५ वर्षीय चुलाइ दनुवारका अनुसार प्राकृतिक नाढीताल ५२ बिघामा फैलिएको थियो। तर, गाउँपालिका कार्यालयले तालमा अहिले पानी रहेको भाग करिब ३५ बिघा मात्रै रहेको बताएको छ।