सिरहा । सिरहाको प्रमुख व्यापारिक शहर लहानको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको छ । स्थानीय सरकारले छाडा पशु चौपायाको व्यवस्थापन गर्न ठोस कदम चाल्न सकेको छैन ।
स्थानीयले आवाज उठाउँदा झिनो प्रयास भएपनि समस्याको स्थायी समाधान भने हुन सकेको छैन । छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । कानुनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ ।
तर, घना शहरमा छाडा पशु चौपाया व्यवस्थित गर्न स्थानीय सरकार उदासीन देखिएको छ । त्यसो त सवारीले पशु चौपायालाई सडकमै मार्ने र महिनौंसम्म सडक दुर्गन्धित हुने घटना नयाँ होइन ।
सम्बन्धित निकायको उदासिनताले बजार क्षेत्रमा पछिल्लोपटक बढेको छाडा चौपायाले सवारी अवागमनमासमेत समस्या पैदा गरेको सर्वसाधारणको गुनासो छ । सडकमा जथाभावी छाडिएका छाडा चौपायाले ट्राफिक आवागमनमा समस्या हुन थालेको छ ।
अहिले लहानका विभिन्न चोक तथा सडकका गल्लीमा छाडा चौपायाको हुल नै देखिन्छ । नगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्न समिति गठन गरेर काञ्जी हाउस निर्माण गरी लकडाउन ताका र लकडाउनपछि पनि करिब दुई सातासम्म अभियान चलाएको थियो ।
तर, त्यसबेला पशु चौपाया नियन्त्रणको प्रयास स्वरुप काञ्जी हाउसमा लगेर राखेपनि फेरि केही दिनमै छाडिदिँदा समस्या जस्ताको त्यस्तै रह्यो । छाडा चौपाया नियन्त्रणका लागि दिगो कार्य नहुँदा सडकमै जथाभावी गाईंवस्तु र सुँगुर छाड्ने प्रवृत्ति बढेर गएपछि सडक दुर्घटना बढेको छ ।