‘सामूहिक घोषणा पत्रलाई ओली सरकारले कुनै पनि पूरा गर्न सकेन । नेता र केन्द्रीय कमिटीसँग छलफल, विचार विमर्श गर्नु भएन,’ उनले भने, ‘भ्रष्टाचार व्यापक रुपमा बढेर गयो । स्वयं प्रधानमन्त्रीले त्यस्तालाई संरक्षण गर्ने कुरा अगाडि सार्न थाल्नु भयो । त्यसैले देशमा अन्यौंल बढ्दै गयो । ओलीले आफ्ना धुपौरे र आसोपासेलाई विभिन्न निकायमा नियुक्त गर्ने काम गर्नुभयो । पार्टीमा कुनै सल्लाह गर्नु भएन ।’
ओलीकै अहंकारका कारण समाजवादको दिशामा देशलाई अघि बढाउने काममा धक्का लागेको खनालको आरोप छ । ‘समाजवादको दिशामा अगाडि बढाउने सम्भावना पैदा भएको थियो । तर, त्यो सम्भावनालाई ओली नेतृत्वको सरकारले मनपरितन्त्र र अहंकारले ग्रस्त भएर आफ्नै खालका काम गर्न थाल्नुभो,’ उनले भने, ‘आफ्ना गुटका मान्छेलाई मात्रै राखेर क्याविनेट बनाइयो । प्लानिङ कमिसन पनि त्यसरी नै बन्यो । तीन वर्षका नीति र कार्यक्रममा कुनै सरसल्लाह रहन सकेन ।’
उनले पछिल्लो अवधिमा ओलीले अरुको कुरा सुन्न छोडेको पनि बताए । ‘पछिल्लो अवधिमा त उहाँले पार्टीका कुरा नसुन्ने मात्रै होइन बैठक नै राख्न छोड्नु भयो,’ उनले भने, ‘दुई तीन महिनामा एकीकरण सक्ने भनेका थियौं । तर, तीन वर्षसम्म पनि पूरा हुन सकेन । पार्टीलाई बचाउन पनि सकिएन ।’
ओलीको दमन सहेर मात्र बसेको भन्दै उनले भने, ‘हामीले संसद्मा पनि विरोध गरेनौं । कमिटीभित्र प्रश्न उठायौं । बाहिर प्रश्न उठायौं । तीन वर्ष सहेर बस्यौं । हामीले प्रश्न उठाउन थालेपछि उहाँले संसद विघटन गर्नुभयो । यो संविधानको ठाडो उल्लंघन थियो । हामीले यसकाविरुद्ध संवैधानिक र राजनीतिक लडाइँ पनि लड्यौं ।’
सर्वाेच्चको फैसलालाई रहस्यमय भन्दै उनले ओलीले पार्टी विभाजन, विघटनतर्फ लैजान दुस्प्रयास गरेको उनको भनाई छ ।