वीरगन्ज । कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’का लागि सातै प्रदेशमा छलफल गर्ने भएको छ । कांग्रेसको शिक्षा विभागले तयार गरेको ‘राष्ट्रिय शिक्षा नीति’को प्रारम्भिक प्रतिवेदनमाथि सातै प्रदेशमा छलफल गर्ने कार्यक्रम र अन्तिम रूप दिने तयारी रहेको विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले बताए ।
उनका अनुसार विभागले सातै प्रदेशमा छलफल गर्न प्रदेश संयोजक तोकेको छ । छलफलका लागि प्रदेश १ मा गोकर्ण बानियाँ, प्रदेश २ मा रघुसिंह थारू, बागमती प्रदेशमा दीपेन्द्र सिजापति, गण्डकी प्रदेशमा चिनु रानाभाट, लुम्बिनी प्रदेशमा राधेश्याम पाठक, कर्णाली प्रदेशमा महेन्द्रकुमार मल्ल र सुदूरपश्चिम प्रदेशमा सुरेशराज जोशी संयोजक तोकिएका छन् ।
कांग्रेसको केन्द्रीय सदस्य हरिप्रसाद नेपाल संयोजक रहेको विभागले सातवटै प्रदेशमा छलफल गरेर प्राप्त राय–सुझाबहरूका आधारमा नीतिलाई अन्तिम रूप दिने पौडेलले जानकारी दिए ।