विश्वभरका खोप कार्यक्रमले कोरोना संक्रमण र अस्पताल भर्ना दरमा कमी ल्याएको देखाउँछन् । तर, कोरोना भाइरसको नयाँ प्रकारको उदय र बढ्दो संक्रमण अझै पनि चासोको विषय छ ।
भाइरस परिवर्तन भइरहन्छ, जुन स्वाभाविक हो । जब कोरोना भाइरस फैलिएर धेरै मानिसलाई संक्रमित पार्छ, त्यसले भाइरसलाई परिवर्तन हुने मौका पनि दिन्छ । खासगरी, लकडाउन, भौतिक दूरीमा कडाइ र सीमा बन्द गर्न ढिलाइ गरेका मुलुक यसको जोखिममा बढी देखिन्छन् ।
भाइरसमा आउने बदलाव भनेको भाइरसको डीएनएमा आएको परिवर्तन हो । यसको आकार र यसले गर्ने व्यवहारमा परिवर्तन हुन सक्छ । जब भाइरसले मानव कोषलाई संक्रमित गर्छ, यसको मुख्य काम प्रतिरूप बनाउने र अझ फैलिने हो । भाइरसले संक्रमित कोषिकामा अरू धेरै प्रतिरूप बनाउन बाध्य पार्छ, जसले अन्य कोषलाई संक्रमित गर्छ र अन्ततः खोकी, हाछ्युँ वा सास फेर्दा पनि अन्य मानिसलाई संक्रमित गर्न सक्षम हुन्छ । अहिले विज्ञहरूले कोरोना भाइरसका नयाँ प्रकारमा ध्यान केन्द्रित गरेका छन् ।
ब्राजिलमा केही भयावह अवस्था उत्पन्न भएको छ । कोभिड–१९ को पहिलो लहरमा भएको दर्दनाक अवस्थाले ब्राजिकलले भयानक नोक्सानी बेहोर्नुप¥यो । त्यही मुलुकमा अहिले कोभिड–१९ को दोस्रो चरणको नयाँ प्रकारको समस्या उत्पन्न गराएको छ ।
अमेरिकापछि ब्राजिलमा ११ करोडभन्दा बढी जनसंख्या संक्रमित भइसकेको छ । र, कोभिडका कारणले विश्वमा सबैभन्दा ज्यादा मानिसको मृत्यु हुने मुलुक पनि ब्राजिल नै हो, जहाँ दुई लाख ७० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
ब्राजिलमा स्थिति अझ नाजुक बनाउन कोभिड–१९ को नयाँ प्रकार देखापरेको छ, जसलाई ‘पी वान’ नाम दिइएको छ । ‘पी वान’ भाइरस विभिन्न परिवर्तनका कारण उत्पन्न भएको हो । यसका तीनवटा प्रकार वैज्ञानिकका लागि चिन्ताको विषय बनेको छ ।
पहिलोे परिवर्तित भाइरस ‘ई–४८४ के’ हो, जो दक्षिण अफ्रिकामा भेटिएको कोभिड–१९को नयाँ प्रकार हो । यसलाई ‘एस्केप’ उत्परिवर्तन भनिन्छ किनकि यसले भाइरसको स्पाइक प्रोटिनका अंशहरूमा परिवर्तन ल्याउँछ । यी परिवर्तनको मतलव भाइरसका नयाँ प्रकारहरू खोप वा अघिल्लो संक्रमण निको बनाउन अपनाइएका विधिबाट बच्न सक्छन् । यसलाई पूर्ण रूपमा बुझ्न थप अनुसन्धान गर्न आवश्यक छ ।
दोस्रो उत्परिवर्तन ‘एन–५०१ वाई’ हो, जो बेलायतामा पाइएको कोभिड–१९ को नयाँ प्रकार हो । यस उत्परिवर्तनले कोरोना भाइरसको स्पाइक प्रोटिनलाई पनि असर गर्छ । खासगरी, यसले ‘रिसेप्टर–बाइन्डिङ डोमेन’लाई असर गर्छ । यो स्पाइक प्रोटिनको अंश हो, जसले मानव कोषसँग सम्पर्क बनाउँछ, तिनीहरूमा टाँसिन्छ र यसले भाइरस भित्र छिर्न सहज बनाउँछ । यस उत्परिवर्तनले भाइरसलाई मानव कोषमा अझ कडा संक्रमण गराउँछ ।
तेस्रो उत्परिवर्तन ‘के–४१७ टी’ हो जसको बारेमा अरू दुई किसिमको जस्तो प्रशस्त जानकारी उपलब्ध छैन । यो स्पाइक प्रोटिनको रिसेप्टर–बाइन्डिङ डोमेनमा पनि देखा पर्छ र यसले भाइरसलाई मानव कोषमाथि संक्रमण गर्न सजिलो बनाउँछ र यसको संक्रामकता बढाउँछ ।
कस्तो छ बेलायतमा देखापरेको कोभिडको नयाँ प्रकार ?
बेलायतलाई तत्काल खोप निर्माण र वितरणका जति प्रशंसा गरिएको छ, त्यति नै पर्याप्त लकडाउन र भौतिक दूरीका उपाय कार्यान्वयन गर्न असफल भएकामा आलोचना पनि गरिन्छ । यसको परीक्षण र पत्ता लगाउने प्रणालीको समस्याका कारण बेलायतले ठूलो जनसंख्याको मृत्युदर सामना गर्नुपर्यो ।
हाल बेलायतमा मृतक संख्या एक लाख २५ हजारभन्दा बढी छ । गत जनवरीमा खोप कार्यक्रम सुरु गर्दा तीव्र मृत्युदर थियो ।
बेलायतमा भेटिएको कोभिडको नयाँ प्रकार ‘बी.१.१.७’ पहिलोपटक सेप्टेम्बर २०२० मा पहिचान गरिएको थियो । त्यतिबेला यो प्रकारको भाइरस हरेक चार बिरामीमध्ये एकजनामा फेला परेको थियो । डिसेम्बर मध्यसम्ममा कोभिडको यो प्रजाति लन्डनमा झन्डै दुई तिहाइमा फैलिसकेको थियो । र, इङ्ल्यान्डको दक्षिणपूर्वमा नयाँ संक्रमित वृद्धि भइरहेका थिए ।
कोभिडका १७ वटा नयाँ प्रकार पहिचान गरिएको छ। तीमध्ये सबैभन्दा महत्वपूर्ण ‘एन– ५०१ वाई’ हो । यस नयाँ प्रकारले भाइरसलाई सजिलैसँग कोषमा प्रवेश गराउँछ । र, मानव कोषिकामा कडा संक्रमण गराउँछ ।
दक्षिण अफ्रिकामा कोभिडको नयाँ प्रकार
दक्षिण अफ्रिकामा देखापरेको कोभिडको नयाँ प्रकारमाथि वैज्ञानिकको विशेष चासो छ । यो भाइरसमा ‘एन ५०१ वाई’ मात्र छैन, बेलायत र ब्राजिलमा देखिएको कोभिडको नयाँ प्रकारजस्तै यसले मानव कोषहरूमा संक्रमण गराउँछ । त्यसैले यो बढी संक्रामक छ । यसमा ब्राजिलमा फेला परेको ‘ई–४८४ के’ भाइरस पनि समावेश छ जुन खोपहरू वा अघिल्लो संक्रमण निको भएपछि प्राप्त एन्टिबडी प्रतिक्रिया पनि जित्न सक्षम छ ।
नाइजेरिमा पनि देखियो नयाँ प्रकार
नाइजेरियामा उत्पत्ति भएजस्तो लागे पनि अर्को नयाँ प्रकार ‘बी १५२५’ अब डेनमार्क, अस्ट्रेलिया र अमेरिकामा पनि देखापरेको छ । यस नयाँ प्रकारमा ‘ई–४८४ के’ पनि छ, जसको मतलव यसले हाम्रो प्रतिरक्षा प्रतिक्रियालाई संक्रमित बनाउँछ । कोराना भाइरसको यो नयाँ प्रकार कसरी फैलिरहेको छ भन्ने अध्ययनमा वैज्ञानिकहरू जुटेका छन् ।
‘हामी महामारी तबसम्म अन्त्य भएको घोषणा गर्न सक्दैनौँ, जबसम्म यसलाई पूर्ण रूपमा निर्मुल पार्दैनौँ,’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसस अदानाम गेब्रिएससले फेब्रुअरी अन्त्यमा भनेका थिए, ‘आज हाम्रो खोपको साझा हकलाई साकार पार्नु पहिलो प्रमुख चरण हो तर यो केवल सुरुआत हो । यस वर्षको सय दिनभित्र सबै देशमा स्वास्थ्यकर्मी र वृद्ध वृद्धालाई खोप दिइरहेको सुनिश्चित गर्न हामीले सरकार र निर्माणकर्तासँग गर्नुपर्ने धेरै काम बाँकी छन् ।’
खोप सबै जातीय समूहका लागि सुरक्षित छ ?
पहिलो कुरा खोपले विभिन्न जातीय समूहका लागि फरक किसिमले काम गर्ने कुनै प्रमाण छैन । खोपको प्रभावकारिता दर सबै जातिमा समान लागू हुन्छ । प्रत्येक खोपको परीक्षणमा विभिन्न जातीय पृष्ठभूमिका मानिसहरू समावेश गरिएको थियो ।
फाइजरको अध्ययनमा सहभागी ९.६ प्रतिशत मानिसमध्ये धेरैजसो देशबाट अफ्रिकी पृष्ठभूमिका थिए । र, ३.४ प्रतिशत एसियाली पृष्ठभूमिका थिए । अक्सफोर्ड–अस्ट्राजेनेका खोपका लागि १०.१ प्रतिशत परीक्षणमा सहभागीहरू अलग–अलग देशका थिए र ३.५ प्रतिशत एसियाली जातीय समूहका थिए । समग्र रूपमा प्रभावकारिता सबै जातीय समूहमा समान देखिएको थियो ।
– अलजजिराबाट