काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि मुलुकले दलीय सहकार्य खोजेको भन्दै त्यसतर्फ केन्द्रित रहन सबै दलका नेतृत्वसँग आग्रह गरेकी छन् ।संसद् पुनस्र्थापनापछिको राजनीतिक अवस्था र दलबीच बढिरहेको तिक्तताबीच राष्ट्रपति भण्डारीले मंगलबार शितल निवासमा सर्वदलीय बैठक आह्वान गरेकी हुन् । बैठकमा उनले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको भन्दै दलीय एकता र सहकार्यबाटै मुलुकलाई अघि बढाइनुपर्ने आवश्यकता आंैल्याइन् ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने मुलुकले ताजा जनादेश खोजेको भन्दै संसद् विघटनकै पक्षमा धारणा राखेका थिए । त्यसपछि कांग्रेस वरिष्ठ नेता पौडेलले भने चुनाव मात्रै विकल्प नभएको भन्दै प्रधानमन्त्रीलाई संसद् सुचारु गर्नेतर्फ लाग्न सुझाएका थिए ।
‘प्रधानमन्त्रीको जोड ताजा जनादेशमा जानुपर्छ भन्ने नै थियो, उहाँ फेरि पनि संसद् विघटनकै पक्षमा देखिनुहुन्थ्यो,’ बैठकबाट बाहिरिएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सञ्चारकर्मीसँगको संवादमा भने ।बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता पौडेलले दलहरू एकताबद्ध ढंगबाट अघि बढ्नुपर्नेमा राष्ट्रपतिको जोड रहेको बताए ।
‘संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि दलहरू मिल्नुपर्छ भन्नेमा राष्ट्रपतिको जोड रह्यो, हामीले राष्ट्रपतिले दलहरूसँग संवाद गर्न ढिला गर्नुभयो । यो छलफल संसद् विघटनअघि नै हुनुपथ्र्यो भन्यौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले शीतल निवासमा भएको छलफलबारे जानकारी दिँदै राजधानीसँग भने ।बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको निर्णय सदर गर्दा राष्ट्रपतिले दलसँग आवश्यक परामर्श नगरेकोप्रति गुनासो राखेका थिए । यसैगरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि राष्ट्रपतिले उचित समयमा दलसँग परामर्श नगरेको गुनासो गरेका थिए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले प्रचण्डसहितका नेताले राष्ट्रपतिले समयमा दलहरूसँग परामर्श नगर्दा मुलुकमा दलबीच राजनीतिक तिक्तताको अवस्था बढ्दो क्रममा पुगेको धारणा राखेको बताए ।
‘राष्ट्रपतिले समयमा दलसँग परामर्श गर्नुभएन, मुलुकको यो अवस्था आउनुमा प्रधमानमन्त्रीसँगै राष्ट्रपति पनि जिम्मेवार हुनुहुन्छ भन्ने धारणा दलका नेताले राखे, प्रचण्डले पनि त्यही भन्नुभयो,’ केसीले भने ।
‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ, यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ,’ राष्ट्रपतिले बैठकमा राखेको भनाइ उद्धृत गर्दै राष्ट्रपति कार्यालयले विज्ञप्तिमा भनेको छ ।
राष्ट्रपति भण्डारीले नेपालको अतिक्रमित भूभाग सामेल गरी गत जेठमा नयाँ रजनीतिक नक्सा प्रकाशन गर्न राजनीतिक दलले अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गरेको भन्दै दललाई धन्यवादसमेत दिइन् ।
यसैगरी, बंगलादेशका राष्ट्रपतिबाट ढाकामा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन निमन्त्रणा प्राप्त भएको र बंगलादेशको राजकीय भ्रमण गर्न लागेकोबारे समेत दललाई राष्ट्रपतिले जानकारी गराएकी थिइन् ।
सर्वदलीय बैठकमा एमालेबाट अध्यक्ष ओलीसहित नेता ईश्वर पोखरेल, सुवास नेम्बाङ, विष्णु पौडेल, रामबहादुर थापा, कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइराला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित प्रवक्ता नारायणकाजी श्रेष्ठ र देव गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो, राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसमेतको सहभागिता थियो । यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी र जनकराज शर्मा तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पनि सहभागी थिए ।
तर, एमाले नेता माधव नेपाल र झलनाथ खनाल तथा जसपा अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भने बैठकमा सहभागी भएनन् ।