वीरगन्ज । नेकपा (एमाले)को अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीका तर्फबाट चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना नभएको बताएको छ । ओली समूहका तर्फबाट महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै राष्ट्रिय भेला आयोजना गरिएको भनी प्रचारित सूचनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
अनुशासनहीन गुटगत भेलामा सहभागी भए संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम अगाडि बढ्ने महासचिव पोखरेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘अनाधिकृत गुटगत भेला नगर्न÷नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन, र कसैले बेलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुने नेकपा (एमाले) सबै नेता÷कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ ।’
एमालेको माधवकुमार नेपाल, झलनाथ खनाल समूहले भोलि र पर्सि राष्ट्रिय भेला बोलाएको छ ।