जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बमकाण्डमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्बर १८ का ३९ वर्षीय बलराम मण्डल रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी कार्यालय सिरहाबाट खटेको प्रहरी टोलीले मालपोत कार्यालयमा भएको बमकाण्डमा संलग्न रहेको हुन सक्ने आशंकामा पक्राउ गरिएको छ । मालपोत कार्यालयको सीसीटिभी फुटेजको अनुसन्धान तथा मण्डलको पछिल्लो गतिविधिकै आधारमा पक्राउ गरिएको छ ।
उनलाई सुखीपुर नगरपालिकास्थित सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरी सिरहाका एप्रहरी उपरीक्षक दिनेश गिरीले जानकारी दिएका छन् ।
उनका अनुसार मण्डल पहिला पनि बमकाण्ड तथा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेकोले यस घटनामा पनि संलग्नता हुन सक्ने आशंकामा यता जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी समूह तथा मालपोत कार्यालयमा भएको बमकाण्डमा संलग्न रहे नरहेको विषयमा अनुसन्धान भइरहेको बताइएको छ । कतिले जग्गा दलालहरुले कर्मचारीहरुलाई धम्काउन वमकाण्ड गराएको वताइरहेका छन ।
मालपोत कार्यालयमा भएको बम विस्फोटमा परी ८ जना घाइतेको भएका थिए । विस्फोटमा परी धनगढीमाई नगरपालिका–४ का दिनेश भण्डारी सहित मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका–१३ का भोलाबहादुर मगर, गोलबजार नगरपालिका–६ का लक्ष्मी राना, बेचनी मगर घाइते भएका छन् । सिरहा नगरपालिका–१६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव घाइते भएका थिए ।बम विष्फोटमा गम्भीर घाइते भएका भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको थियो अहिले उनकोे काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइराखेको प्रहरीले जनाएको छ ।