पोखरा । पोखरामा अवैधरुपमा चन्दा उठाएको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको नयाँगाउँस्थित मितेरी पुलबाट चन्दा उठाउने रसिद सहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।उनीहरुले रौतहटको टासी छोग्याल गुम्बा र गजुरा नगरपालिका कटानीको रसिदबाट पोखराका विभिन्न ठाउँमा चन्दा उठाउँदै हिँडेका भन्ने सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका स्थाई घर भई पोखराको पृथ्वी चोकमा बस्दै आएका निमा तामाङ, पदमबहादुर लामा, धनबहादुर लामा, विजय लामा र जितबहादुर थिङ रहेका छन् ।
लामा पोसाकमा गुम्बाको रसिद लिई चन्दा उठाई हिँडिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए ।
उनीहरुको साथबाट चन्दा बापत उठाएको ४२ हजार ४९१, गुम्बाका नाममा बनाइएको १२ थान रसिद ठेली, विभिन्न फाइल तथा रजिष्टर, मोवाइल सेट ७ थान बरामद गरेको प्रवक्ता हमालले बताए । पक्राउ परेका पाँचै जनालाई ठगी सम्बन्धी कसुर अन्र्तगत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।