झापा | नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कारबाट गोविन्द चन्द छेत्री पुरस्कृत भएका छन्। त्यस्तै‚ केटो पत्रकारिता पुरस्कारबाट दमककी पत्रकार गीताकुमारी ढुङ्गाना पुरस्कृत भएकी छिन्।
बिर्तामोडमा शनिवार आयोजित समारोहमा पत्रकार छेत्रीलाई ५१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो। ढुङ्गानालाई १५ हजार रुपैयाँसहित सम्मानपत्रले प्रदान गरिएको थियो। उनीहरूलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, पूर्वकेन्द्रीय अध्यक्ष शिव गाउँले र महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले पुरस्कार प्रदान गरेका थिए।
७७ वर्षीय छेत्री अंग्रेजी दैनिक ‘दि हिमालयन टाइम्स’मा झापाबाट रिपोर्टिङ गर्छन् भने भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकको प्रकाशक सम्पादक छन्। ढुङ्गाना दमकबाट प्रसारित हिमशिखर टेलिभिजनमा आवद्ध छन्। उनी एक दशकदेखि पत्रकारितामा क्रियाशील छिन्।
पत्रकार महासंघ झापाले नेपालका पहिलो पत्रकारका रुपमा सम्मानित मोतीराम भट्टको स्मृतिमा मोती पत्रकारिता पुरस्कार र मेची अञ्चलकै पहिलो पत्रिका श्यामकृष्ण उपाध्याय सम्पादक तथा प्रकाशक रहेको ‘केटो’मासिकको नामबाट केटो पत्रकारिता पुरस्कार स्थापना गरेको हो। महासंघले हरेक तीन वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ।