वीरगंज। जापानको प्रशिद्ध विश्वविद्यालय क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) ले नास्टका वैज्ञानिक तथा इन्जिनियर रोशन पाण्डेमाथि शोधपत्र चोरीको गम्भीर आरोप लगायो । नेपाली स्याट-वानमा नास्ट (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान) ले सहकार्य गरेको विश्वविद्यालयले नै चेतावनीपूर्ण आशयका साथ दुई चरणमा पत्र पठाएको थियो ।
क्युटेकले पठाएको पत्रको आधारमा टेकपाना र कान्तिपुरले समाचार प्रकाशन गरे । तर पाण्डेले आफूलाई बौद्धिक अधिकारको विषय राम्रैसँग जानकारी रहेको भन्दै प्रकाशित समाचारको खण्डन नै गरे ।
नेपालको वैज्ञानिक अनुसन्धान गर्ने सबैभन्दा उच्च निकायको रुपमा रहेको नास्टले भने अहिलेसम्म आफ्नो आधिकारिक धारणा बाहिर ल्याएको छैन । तर नेपालको प्राज्ञिक जगतमा भने यसले राम्रै चाँसो र बहस सिर्जना गरेको छ ।
वास्तवमा यो प्रकरण के हो ? पाण्डेमाथि लागेको शोधपत्र चोरीको आरोपमा कत्तिको सत्यता छ ? के आफूले दाबी गरेजस्तै उनी यो विषयमा इमान्दार छन् ? क्युटेकले किन त्यस किसिमको गम्भीर पत्र पठायो ? यी सबै विषयको आज हामी चिरफार गर्दै छौं ।
गत अक्टुबर १२ देखि १४ सम्म (असोज २६ देखि २८) आयोजना भएको ७१ औं इन्टरनेसनल एस्ट्रोनटिकल कंग्रेस (आईएसी) मा पाण्डेयले काठमाडौं विश्वविद्यालयका सुरेश भट्टराईसँग मिलेर एउटा कन्फ्रेन्स पेपर प्रस्तुत गरेका थिए ।
‘नेपाली स्याट-वान विगिनिङ अफ द स्पेस एरा इन नेपाल’ शीर्षकमा तयार पारिएको सोही अनुसन्धानपत्रको विषयलाई लिएर क्युटेकले आपत्ति जनाएको हो ।
पाण्डेले समाचारको खण्डन गर्दै बौद्धिक अधिकारको बारेमा आफू जानकार रहेको दाबी गरिरहँदा आईएसीमा आफूले प्रस्तुत गरेको अनुसन्धानपत्रको महत्व के रहन्छ भन्ने कुरा समेत बिर्सिएका छन् । खण्डनमा आफ्नो कमजोरी लुकाउन उनले उल्टै सञ्चार माध्यमको निन्दा गरेका छन् ।
तल हेर्नुहोस् पाण्डेले इन्टरनेसनल एस्ट्रोनटिकल कंग्रेस (आईएसी) मा प्रस्तुत गरेको तथा उनी आफैंले रिसर्च गेटमा अपलोड गरेको अनुसन्धानपत्र
जब कि उनले प्रस्तुत गरेको पत्रमाथि ‘इन्टरनेसनल एस्ट्रोनटिकल फेडेरेसन’ (आईएएफ) ले आफ्नो कपीराइट लाग्ने गरी वेबसाइटमै प्रकाशन गर्यो । सम्मेलनमा ‘साधारण सचेतनामूलक प्रस्तुति’ मात्र गरिएको भने पनि उनी आफैंले ‘रिसर्च गेट’मा अनुसन्धानपत्रको रुपमा अपलोड गरेका थिए ।
हेर्नुहोस्, क्यूटेकले पठाएको पछिल्लो पत्र
यहाँ हामीले पाण्डेले आईएसीमा प्रस्तुत गरेको तथा उनी आफैंले रिसर्च गेटमा अपलोड गरेको अनुसन्धान पत्रमाथि क्युटेकले आपत्ति जनाउनुको कारण खोतलेका छौं । पाण्डेको अनुसन्धानपत्र क्यूटेकको अधिकार रहेको बर्ड्स प्रोजेक्ट सम्बन्धि अनुसन्धान तथा जानकारीसँग कत्तिको मेल खाएको छ र कहाँबाट कसरी कपी पेस्ट गरिएको छ भन्ने कुरा यहाँ बुँदागत रुपमा प्रस्तुत गर्दैछौं ।
१. पाण्डेले प्रस्तुत गरेको अनुसन्धानपत्रको दोस्रो पेजमा रहेको ३.१ अनुच्छेद उपशीर्षक सहित बर्ड्स थ्री प्रोजेक्टको इमेजिङ मिसन (सीएएम) सँग दुरुस्तै मेल खाएको छ ।
२. बड्स प्रोजेक्टको साइटमा रहेको ‘लोरा डोमेन्स्ट्रेसन मिसन (एलडीएम) को उपशीर्षक सहितको अनुच्छेद पाण्डेको अनुसन्धानपत्रको ३.२ नम्बर बुँदामा जस्ताको त्यस्तै सारिएको छ ।
३. बर्ड्स थ्री मिसनको स्टाटसको ३ नम्बरमा रहेको ‘एटिट्युड डिटरमिनेसन एन्ड कन्ट्रोल मिसन (एडीसीएस) को सम्पूर्ण खण्ड पाण्डेले तयार पारेको अनुसन्धानपत्रको ३.३ बुँदामा जस्ताको तस्तै कपी गरेर राखिएको छ ।
४. क्युटेकको बर्ड्स थ्री मिसन स्टाटसकै ४ नम्बर बुँदामा रहेको ‘सफ्टवेयर कन्फिगरबेल ब्याकप्लेन मिसन (बीपीबी) समेत पाण्डेको अनुसन्धानपत्रको ३.४ नम्बर बुँदामा जस्ताको तस्तै कपी गरिएको छ ।
५. क्युटेकको बर्ड्स प्रोजेक्टको ‘सीडब्लू टाइमिङ’ को तालिकालाई पाण्डेले आफ्नो अनुसन्धानपत्रको दोस्रो पेजमा जस्ताको तस्तै कपी गरेका छन् ।
६. बर्ड्स टिमले तयार पारेको ‘फर्म्याट एन्ड टाइमिङ’ खण्डमा राखिएको ‘हाउस किपिङ फर्म्याट’ लाई समेत पाण्डेले आफ्नो अनुसन्धानपत्रमा जस्ताको त्यस्तै कपी गरेर राखेका छन् ।