पर्सा । नेपाल सरकारले बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल नेपाल भित्रिन थालेको छ। गत सिजनको धान रोप्ने बेलादेखि सरकारले बंगलादेशबाट कहिले अनुदान त कहिले खरिद युरिया ल्याउने बताउँदै आएको थियो।
बंगलादेशले अनुदानमा र सापटीमा मल नदिने भएपछि गभर्मेन्ट टु गभर्मेन्ट (जिटुजी) प्रक्रिययाबाट खरिद गरी ल्याउन थालिएको कृषि सामग्री कम्पनीले जनाएको छ।
जि टु जि प्रक्रियाबाट विना कुनै मध्यस्थकर्ता खरिद गरिएको ५० हजार मेट्रिक टन युरिया मलमध्ये पहिलो चरणमा बंगलादेशको कर्णाफुल्लीबाट लिफ्टिङ भई २२ हजार ५०० मेट्रिक टन मल भारतको कोलकत्ता आइपुगेको छ। त्यहाँ प्याकिङ भई नेपाल भित्रिन थालेको कृषि सामग्री कम्पनीका प्रवक्ता राजेन्द्र कार्कीले बताए। पहिलो चरणकोसाढे २२ हजार मेट्रिक टनमध्ये सोमबार २१ वटा ट्रक मल भारतको जोगमुनी हुँदै ९०० मेट्रिक टन विराटनगर आइपुगेको कार्कीले बताए।
९० दिनभित्र नेपाल भित्र्याइसक्नुपर्ने गरी बंगलादेशको जेन ट्रेडर्सले पारेको क्लियरिङ फर्वाडिङको टेण्डरअनुसार उसले सो समयभित्र मल नेपाल पु¥याइदिइसक्नु पर्ने हुन्छ। त्यसै प्रक्रियाअनुसार सोमबार पहिलो चरणको ९०० मेट्रिक टन युरिया मल नेपाल भित्रिन थालेको प्रवक्ता कार्कीले बताए।
‘५० हजार मेट्रिक टनमध्ये १० हजार मेट्रिक टन युरिया मल पनि बंगलादेशबाट डिसप्याच कम्फर्म भइसकेको छ। बाँकी साढे १२ हजार मेट्रिक टन पनि लिफ्टिङ हुँदैछ,’ प्रवक्ता कार्कीले भने, ‘कर्णाफुल्लीबाट आगामी चैतभित्र सबै मल नेपाल आइपुग्ने छ।’
गत सिजनमा भएको रासायनिक मलको अभावलाई मध्यनजर गरी यस वर्ष कृषि सामग्री कम्पनीले थप एक लाख २० हजार मेट्रिक टन युरिया मल पनि चैतभित्रमा नै नेपाल ल्याइपुर्याउने गरी खरिद गरिसकेको छ।
यसको अलावा डिएपी मल पनि ५० हजार मेट्रिक टन नेपाल भित्रिसकेको छ। त्यसै गरी २५ हजार मेट्रिक टन पाइपलाइनमा छ। थप पाँच हजार मेट्रिक टन डिएपी मल पनि बाटोमा आउँदै गरेको कम्पनीले बताएको छ। सबै मल आइपुगेपछि आगामी सिजनमा मलको अभाव हुँदैन। फेरि नेपाललाई चाहिने सबै प्रकारको थप मल ल्याउने प्रकृयामा कृषि सामग्री कम्पनी तदारुकता साथ काम गरिरहेको छ। पहिले जस्तो अब रासायनिक मलको हाहाकार नहुने गरी कृषि सामग्री कम्पनी कार्यसम्पादन गरिरहेको दावी गरेको छ।