बिरगंज ।ज्ञानदा एकेडमीले एक दिने अभिभावक स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक डा. सि.बि. जदलीले गर्नु भएको थियो । ज्ञानदा एकेडमीले अभिभावकलाई लक्षित गर्दै एक दिने शैक्षिक कार्यशाला गोष्ठी आफ्नै बहुउद्देश्यीय सभाकक्षमा सम्पन्न गरेको छ ।
त्यस गोष्ठीमा अभिभावक तथा वालवालिकाहरुलाई लक्षित गर्दै, बिधालयका प्रधानाध्यापक डा. सि.बि. जदलीले “बच्चाहरुले त्यही अनुसरण गर्दछन् जुन उनीहरुका अभिभावकले गर्छन भन्ने कुरामा प्रकाश पार्नु भयो ।” तथापी, बच्चाहरुको अगाडि कुनै पनि किसिमका क्रियाकलापहरु गर्दा सजगता अपनाउनु पर्दछ भन्ने कुरामा पनि जोड दिनु भएको थियो ।
कार्यक्रमलाई थप स्तरीय बनाउन स्वागत गीत, विभिन्न किसिमका मोटिवेशनल भिडियो तथा एकेडमीको भिडियो देखाउने व्यवस्था पनि मिलाईएको थियो । कार्यक्रममा उपस्थित अभिभावहरुमध्ये धेरै जनाले आफ्नो जिज्ञासा ज्ञानदाका प्र.अ. समक्ष राख्नु भयो ।
त्यसै अवसरमा बोल्दै विद्यालयका प्र.अ. डा. सि.बि. जदलीले अभिभावकहरुको भूमिका एउटा बालकको शैक्षिक प्रगतिमा र उसको भविष्य निर्माणमा कस्तो हुनुपर्ने र कसरी अभिभावकहरुले आफ्नो दायित्वलाई वहन गर्न त्यसतर्फ कसरी कदम बढाउन सक्दछन भन्ने विषयमा महत्वपूर्ण जानकारी दिनु भएको थियो साथै उहाँले अहिलेको २१ औँ शताब्दीको बेला बालबालिकाहरुको मनोस्थितिलाई बुझेर त्यसतर्फ महत्वपूर्ण पाइला चाल्नु पर्ने कुरालाई पनि व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने विद्यालयको तर्फबाट शिक्षक, शिक्षिका र कर्मचारीहरुसबैको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण ज्ञानदा कै शिक्षिका सुश्री मेघा दधिचले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन श्रीमती जागृति मिश्राले गर्नु भएको थियो ।