पेरिस | फ्रान्सको एक अदालतले पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई घूससम्बन्धी मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको छ ।सार्कोजीले न्यायाधीशलाई एउटा फौजदारी मुद्दाबारेको सूचना दिए मोनाकोमा आकर्षक जागिर दिने लोभ देखाएकोमा दोषी ठहर गर्दै सजाय सुनाइएको हो ।यद्यपि उनले जेलमा भने समय बिताउनु नपर्ने जनाइएको छ । उनको दुई वर्षको सजाय निलम्बन गरिएको र उनलाई एक वर्षसम्म हातमा विद्युतीय बाला लगाएर घरमै बस्न दिन सकिने न्यायाधीशले जनाएकी छन् । तर यसबारे अर्का न्यायाधीशले अन्तिम फैसला सुनाउने जनाइएको छ ।
सार्कोजीविरुद्धको मुद्दालाई फान्समा निकै महत्त्वका साथ हेरिएको थियो । उनी जेल सजाय भोग्ने गरी सजाय पाउने पहिलो फ्रान्सेली पूर्वराष्ट्रपति समेत भएका बीबीसीले उल्लेख गरेको छ । यसअघि फ्रान्सका पूर्वराष्ट्रपति ज्याक सिराकलाई पेरिसको नगरप्रमुख हुँदा कार्यकर्तालाई जागिर दिएको आरोपमा सन् २०११ मा दुई वर्षको निलम्बित सजाय दिइएको थियो ।
६६ वर्षीय सार्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति थिए । सार्कोजीका पूर्ववकिल र ती न्यायाधीशलाई पनि उस्तै प्रकृतिको सजाय सुनाइएको छ । सरकारी वकिलले भने सार्कोजीलाई चार वर्षको जेल सजाय हुनुपर्ने माग गरेका थिए ।फैसलाबारे तीनै जनाले पुनरावेदन गर्ने ठानिएको छ । मुद्दाको पुनारावेनका लागि सार्कोजीसँग १० दिनको समय रहेको जनाइएको छ । योबाहेक सार्कोजीविरुद्धको अर्को मुद्दाको सुनुवाइ मार्च १७ देखि अप्रिल १५ सम्म सुनुवाइ हुँदै छ । सन् २०१२ को चुनावमा सार्कोजीले तोकिएभन्दा धेरै खर्च गरेका भन्दै मुद्दा दायर गरिएको हो । उक्त चुनावमा सार्कोजी पराजित भएका थिए ।