बिरगंज | चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नताक तहको प्रवेश परीक्षा चैत्र अन्तिम साता गर्ने तयारी गरिरहेको बताइएको छ।आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले स्नताक तहको प्रवेश परीक्षा चैतको अन्तिममा गर्नेगरि आयोग जुटेको जानकारी गराएका छन् ।डा.गिरीका अनुसार एमबिबिएस तथा बिडिएस, बिएन तथा बिएसी नर्सिङ, फार्मेसी, पब्लिक हेल्थलगायत स्नातक तहका प्रवेश परीक्षाको प्रक्रिया अबको एक साताभित्रै प्रारम्भ हुनेछ ।
‘आयोगले प्रवेश परीक्षा दिनेका लागि एक हप्तामा सूचना निकालेर निवेदन माग गर्छौं,’ डा. गिरीका अनुसार निकट भविष्यमै परीक्षा गर्ने तयारीमा जुटेको छ ।आयोगले स्नातक तहको परीक्षामा ४० देखि ६० हजारसम्म विद्यार्थी सहभागी हुनसक्ने अनुमान गरेको छ।अघिल्लो वर्षमा आयोगले काठमाडौंमा मात्रै परीक्षा सञ्चालन गर्ने गरेको थियो ।तर, यस वर्षबाट भने काठमाडौं बाहिर पनि परीक्षा सञ्चालन गर्न आयोग जुटेको डा.गिरीले बताएका छन् ।
कोरोना महामारीका कारण चिकित्सा शिक्षाको वार्षिक शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक कार्यक्रम सञ्चालन हुन सकेको थिएन ।अघिल्लो आर्थिक वर्षकै भर्ना प्रक्रिया तथा कक्षा सञ्चलान कोरोना संक्रमणका कारण ढिला भएपछि आगामी वर्षको शैक्षिक कार्यक्रम पनि केही ढिला हुने डा. गिरीको भनाइ छ ।