हेटौंडा । प्रहरीले हेटौंडा–११ नवलपुरबाट २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–१ पलासे बस्ने २१ वर्षीय नवराज थिङ र सोही स्थान बस्ने २० वर्षीय बाबुराम थोकर छन् ।
बिहीबार राति ११ः३० बजेको समयमा हेटौंडा–११ नवलपुरस्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्डमा नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ना१ह ७२३६ नम्बरको अटोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त अटोमा लुकाइ ल्याएको अवस्थामा २५ किलो गाँजा फेला परेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उक्त अटोको पछाडिपट्टीको सिटमूनि लुकाइ ल्याएको अवस्थामा ४ वटा पोकामा गाँजा फेला परेको हो ।बरामद गाँजा र अटोलाई नियन्त्रणमा लिनुका साथै अटोमा सवार दुईजनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।