बीरगन्ज । पर्साको बीरगन्जमा छपकैयास्थित प्लाष्टिक गोदाममा आगलागी भएको थियो । बुधबार बीरगन्ज महानगरपालिका वडा नं २ छपकैयामा रहेको प्लाष्टिक गोदाममा आगलागी भएको हो । कमरुल हसनले सञ्चालन गरेको अर्सद स्केप प्लाष्टिक उद्योगमा आगलागी भएको थियो ।
आगलागीबाट गोदामको अग्रभागमा रहेको प्लाष्टिकका कबाडहरु जलेर नष्ट भयो ।आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी गराए । आगलागीको कारण पनि हालसम्म खुल्न नसकेको उनको भनाई छ ।
साँझ ६ बजेबाट सुरु भएको आगलागी साँझ ७ः३० बजे नियन्त्रणमा आएको जनाइएको छ । बीरगन्ज महानगरपालिकाबाट गएको वारुण यन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतकाको सहयोगमा आगलागी निभाईएको हो ।
प्लाष्टिक गोदाममा भएको आगलागीको मुस्लो ३० फिट माथि सम्म देखिएको र धुँवाका कारण छपकैया आसपासको क्षेत्रमा कालो बादल लागेको स्थानियहरुले बताए । आगलागीका कारण केही बेर स्वाँसप्रश्वासमा समेत समस्या आएको स्थानियहरुले जानकारी गराए ।
गोदाम घना बस्ती भएको क्षेत्रमा अवस्थित छ । सो क्षेत्रमा अन्य आधा दर्जनभन्दा बढी प्लाष्टिकका गोदाम तथा उद्योगहरु सञ्चालनमा रहेका छन् । आगलागी भएको गोदामसँगै दुर्गा पेट्रोल पम्प छ ।आगलागीका कारण उक्त क्षेत्रका स्थानियहरु केहीबेरका लागि त्रसित भएका थिए । स्थानिय डा. अजित साहका अनुसार प्लाष्टिकका गोदाम तथा कबाड कारखानाहरुका कारण सो क्षेत्रमा आगलागी तथा अन्य घटनाहरु हुने गरेको छ । यस विषयमा स्थानिय प्रशासनलाई ध्यानाकर्षण गराउँदा समेत गोदाम तथा कबाड कारखानाहरुलाई व्यवस्थित गर्न हालसम्म सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसकेको डा. साहले बताए ।प्लाष्टिक गोदाम तथा कारखानाहरुका निस्केको मोनोअक्साईड ग्यासका कारण सो क्षेत्रका बासिन्दाहरुले स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु झेल्दै आएका छन् । स्थानिय सुबास शर्माका अनुसार बीरगन्ज महानगरपालिकाको वारुण यन्त्र तथा प्रहरीको उद्धार टिम समयमै पुगेको कारण ठुलो दुर्घटना हुनबाट जोगिएको हो ।