वीरगंज |नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले डिजेल, पेट्रोल, मट्टीतेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुईका दरले वृद्धि गरेको हो ।
मूल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टीतेलको ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटरर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा छ । अर्धमासिक रुपमा करिब ८६ करोड ७८ लाख घाटा नै रहने छ । यसअघिसमेत निगमले इन्धनको मूल्य बढाएको थियो ।
समायोजन गरिएको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।