काठमाडौँ | अँह ! हम आब सीता नै बनबौ,
अति सहनशील आ कोमल माता जानकी नै बनबौ,
रे राम ! कान खोइल क सुइन,
तोहर पुरुषवादी अहंकारके बोझके चल्ते,
हम आब धरतीके भितर नै धसबौ ।
शुक्रबार महिला हिंसा र दण्डहीनता अन्त्यका लागि सिंहदरबार महिला मार्चमा सहभागी कवि सपना सञ्जीवीनीले यी कविताका पंक्ति वाचन गरेकी हुन् । देशमा बढ्दै गरेको यौनजन्य हिंसाविरुद्ध आवाजमा थपिन्–
रे ब्रहमा ! कान खोइल क सुइन,
तोहर घृणित वासनाके सिकार नै बनबौ,
खबरदार ! आब जे तू हमरा दिस आँइखो उठा क तकले,
अपने बाप कहि क डरे चूपचाप नै रहबौ,
तोहर आँइख नोइच क ब्रहमा, ओतहि अपन हातसे तोहर बध करबौ ।
सयौं उपस्थित भीडमा सपनाको यो कविताको हरफले पितृसत्तात्मक समाजप्रतिको खबरदारी थियो । जसरी हिन्दु ब्राह्मणवादी पितृसत्ताले सदियौंदेखि सीताजस्तै सहनशील, सरस्वतीजस्तै ज्ञानी बन्ने कुरा दिमागमा सेट गरेर राखेको छ । अब त्यो इतिहास मान्य नहुने उनको कविताको भाव थियो ।
दिनप्रतिदिन बढिरहेको बलात्कारजस्तो जघन्य अपराधविरुद्ध सडकमा न्यायका लागि खबरदारी गर्न भीड जम्मा भएको थियो । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या पुष्टि भएको दुई हप्ता बित्न लाग्दा पनि दोषी फेला परेका छैनन् । २०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की १३ वर्षीया निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला पर्यो । तर दुई वर्ष बितिसक्दा पनि दोषी पत्ता लागेको छैन ।
महिला मार्चमा सहभागीहरुको एउटै प्रश्न थियो आखिर महिलाको सुरक्षा र सम्मानपूर्वक बाँच्ने पाउने अधिकार कहिले सुनिश्चित होला ? उपस्थित भीडले तिनै निर्दोष बालिका तथा महिलाहरुको न्यायका लागि गुहार माग गरिरहेका थिए ।
‘तेरो विभेदकारी सुझाव चाहिँदैन ।’ ‘अपराध जोगाउने परिपाटी हरेक दिन भागरथी ।’ ‘महिला हिंसा बन्द गर, संविधानको रक्षा गर ।’ भन्ने नाराका साथ गुञ्जिरहेको उक्त भीडमा ‘ए हजुर, एउटा प्रश्न सोध्न पाइन्छ ? हामीले सास फेर्न कसको सिफारिस पाइन्छ ? भन्ने प्लेकार्ड बोकेर बसिरेहकी थिइन् एक किशोरी । कैलालीकी ११ कक्षामा पढ्ने एलिना आचार्य भन्छिन्,‘हामी घरमा ३ जना छोरीहरु मात्र छौं । यत्तिको उमेरसम्म पुग्दा पनि हामीले आफू स्वतन्त्र अनुभव गर्न पाएका छैनौं । म न्यायको गुहार माग्दै आज यहाँ आइपुगेको हो ।’
‘महिला राष्ट्रपति भएको देशमा पनि यतिविधि महिला हिंसा देख्नु परिरहेको छ । आफ्नै देशमा सुरक्षित छैनौं भने अरुको देशमा हाम्रो सुरुक्षा कस्तो हुन्छ ? उनले प्रतिप्रश्न गरिन् ।महिला अधिकारकर्मी हिमा विष्टले दिनहुँ महिला तथा किशोरी बलात्कृत भइरहेको तर न्याय नपाएको दुखेसो पोखिन् ।
‘निर्मला पनि हामी नै हो, भागरथी पनि हामी नै हो । आक्रोशित भावमा उनी भन्छिन्,‘पटक-पटक हाम्रो बालात्कार हुन्छ । हामीले न्याय पाएका छैनौं । कसैलाई फरक परेको छैन । सुन्ने कोही हुँदैन । हामीलाई निरंकुश शासन चाहिएको छैन ।’त्यस्तै सडकमै शिल्पी थिएटरले प्रस्तुत गरेको नाटकले महिला हिंसा भइरहे पनि सरकार मुकदर्शक भएर बसेको सत्यतालाई भीडमा अभिव्यक्त गर्यो ।
आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका कवि बच्चु हिमांशुले समाजमा भइरहेको हिंसाको पीडक तथा सहभागी पुरुष पनि रहेको बताए । उनले भने, ‘विद्यमान हिंसा भइरहेकोमा कहीं न कहीं पुरुषको पनि हिस्सेदारी छ । स्वयं पुरुष भएर संरचनाको लाभ लिइरहेका छौं । त्यसका लागि आत्माआलोचित हुनुपर्छ । महिलाप्रति हामी कति असंवेदनशील भइरहेका छौं । अब हामीलाई समाजमा भइरहेको निरन्तर हिंसाप्रति चुप लागेर बस्ने छुट छैन । ’
नेपालभाषा अभियान्ता रजनी मिलाले सरकारले संसद पुर्नस्थापना गरेर नागरिकहरुसँग माफी मागेर तत्काल राजीनामा दिनुपर्ने कुरामा जोड दिइन् । ‘जनताद्वारा चुनिएका सत्तामा गइसकेका भूइँमान्छेलाई नागरिकमाथि टेक्ने कसले अधिकार दियो ? महिलाहरु बलात्कृत भएर मारिरहेका छन् त्यसमा एक शब्द नबोलिकन बस्ने राष्ट्रपतिले राजीनामा दिनुपर्छ, ’उनले चुनौती दिँदै भनिन् ।सुरक्षा निकाय र राज्यले बलात्कारका घटनालाई गरेको बेवास्ताबारे सडकबाट चुनौती दिँदै भीडले राज्यलाई चेतावनी दिँदै भन्यो–बलात्कारी होस् तँ ।