काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको शैक्षिक सत्र १ असारबाट सुरु गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ संशोधन स्विकृति दिएपछि मन्त्रालयले काम अघि बढाएको हो ।
१ वैशाखमा सुरु हुने शैक्षिक सत्र नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दुई महिनापछि धकेलिने लगभग निश्चित प्रायः भएको हो । शिक्षा सचिव गोपीनाथ मैनालीले विद्यालय तहको शैक्षिक सत्र केही महिना पछाडि धकेलिने जानकारी दिए ।अनलाइनखबरसँग उनले भने, ‘दुई महिना जति ढिलो हुनसक्छ तर मन्त्रालयले निर्णय गरिसकेको छैन ।’
‘कोरानाका बावजुद जसरी हुन्छ शैक्षिक सत्र खेर जान नदिने गरी काम गरिरहेका छौं । यो वर्षको शैक्षित्र सत्र १४ महिना र आगामी वर्षको शैक्षिक सत्र १० महिनाको हुनसक्छ ।’
यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनः राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्न पाउने भएको छ । गत वर्ष कोभिड-१९ का कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिएको थियो ।
विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउन भएको छ ।