वीरगञ्ज । कोरोनाविरुद्धको खोप लगाउन सरकारले निर्देशिका बनाए पनि प्रदेश २ मा उक्त निर्देशिका पालन नभएको पाइएको छ । निर्देशिका अनुसार स्वास्थ्यकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स चालकसहित कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिएकालाई पहिलो चरणमा खोप दिनुपर्ने हो ।
तर प्रदेश २ का कतिपय जिल्लामा मन्त्री, राजनीतिक दलका नेतादेखि व्यापारीसम्मले यो खोप पहिलो चरणमैं लगाएका छन् भने कतै स्वास्थ्यकर्मीले नै खोप लगाउन बाँकी रहेको देखिएको छ । जहाँ निर्देशिका पालना भएन, त्यहाँ शतप्रतिशत खोप लगाइएको देखियो तर जहाँ कडाइका साथ मापदण्ड पालना गर्नरगराउन खोजियो, त्यहाँ भने लक्ष्य पूरा भएन ।
प्रदेश २ का ८ जिल्लाका ३४ हजार ८ सय ४ जना अग्रपङ्क्तिमा रहनेहरूलाई पहिलो चरणमा खोप आएकोमा हालसम्म २५ हजार ६ सय ३७ जनाले मात्रै खोप लगाएका छन् ।
खोप शुभारम्भ हुने दिन नै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले खोप लगाए । शुरूको खोप नै मापदण्डविपरीत थियो । यसपछि प्रदेशको सत्तारूढ दल जनता समाजवादी पार्टीका युवा नेता किशोरकुमार यादवले खोप लगाए ।
यसरी खोप लगाएका नेता, कार्यकर्ताहरू धेरै छन् । यीबाहेक व्यापारी, सरकारी कार्यालयका सवारी चालकहरूले समेतले खोप लगाएको पाइएको छ ।
प्रदेशमा केन्द्रीय निर्देशिकाविपरीत पनि खोप लगाएको पाइएको प्रदेशको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले स्वीकार गरेका छन् । आउने दिनमा निर्देशिका अनुसार नै काम हुने झाले बताएका छन् ।
कतिपय जिल्लामा स्वास्थ्यकर्मीहरू नै खोप लगाउन डर मानेकोको कारण लक्ष्य पूरा हुन नसकेको झाको भनाइ छ । खोपले आजसम्म कुनै साइड इफेक्ट गरेको नदेखिए पनि स्वास्थ्यकर्मीले लगाउन नमानेकाले अहिलेसम्म पहिलो चरणको खोप कार्यक्रमको लक्ष्य पूरा हुन नसकेको उनको भनाइ छ । यस क्रममा पर्सामा ४ हजार ९ सय ७१ जनाका लागि खोप आएकोमा ५ हजार १ सय १८ जनाले खोप लगाएका छन् । yatradaily