वीरगन्ज । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विवाद निरुपणमा केन्द्रीत भएर अध्ययन सुरु गरेको छ।
नेकपाको आन्दोलनरत पक्षले आफ्नो आधिकारिकताको दाबीसहित पत्र पेश गरेपछि विवाद कसरी निरुपण गर्ने भन्नेमा अध्ययन सुरु भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले देशसञ्चारलाई जानकारी दिए।
उनले भने, ‘नेकपाको विवाद समाधान कसरी गर्ने भन्नेमा अध्ययन सुरु भएको छ। नेकपाको एक पक्षले आधिकारिकताका लागि पत्र बुझाएपछि विवाद समाधानका लागि प्रक्रिया अघि बढाउन सहज भएको छ।’
नेकपाको आन्दोलनरत पक्षले यही माघ २० गते आफ्नो आधिकारिकताका लागि १९ पृष्ठ लामो पत्र आयोगलाई बुझाएको थियो।
पत्रमा विधानअनुसार आफूसँग बहुमत भएकाले त्यसका आधारमा निर्णय गर्न आयोगलाई आग्रह गरिएको थियो। त्यसअघि आयोगले नेकपाका दुवै पक्षले आधिकारिकताका लागि दाबी गर्न नआएकोले नेकपा कानुनी रुपमा नफुटेको दाबी गरेको थियो।
यो बीचमा प्रधामन्त्री केपी शर्मा ओलीले आयोगमा पदाधिकारीको रुपमा डा. जानकी तुलाधार र सदस्यका रुपमा रामप्रसाद भण्डारीलाई नियुक्ति गरेका छन्।
उक्त नियुक्ति असंवैधानिक भएको भन्दै आन्दोलनरत पक्ष झनै आक्रोशित छ। निर्वाचन आयोगलाई नेकपाको विवाद समाधान नगरी निर्वाचन प्रक्रिया अघि नबढाउन चौतर्फी दबाब छ।
आयोगका आयुक्तहरुले समेत यो यथार्थ स्वीकार गरेका छन्। आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनका मुख्य खेलाडी राजनीतिक दल भएकाले नेकपाको विवाद समाधान गरेर निर्वाचन गर्न सहज हुने बताउँदै आएका छन्।