बिरगंज । कम्युनिस्ट पार्टीलाई विचार, सिद्धान्तप्रधान पार्टी भनिन्छ । त्यसो त कम्युनिस्ट पार्टीमा आबद्ध नेता-कार्यकर्ताले पार्टीमा नीतिको स्थान प्रधान रहने र नेतृत्व गौण हुने बताउँदै आएका छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि यो विषय बहसमा छ । विमर्श जारी छ ।
तर, नेकपाबाट विभाजित भएको प्रधानमन्त्री केपी शर्मा ओली समूहले आत्मप्रचार र व्यक्ति पूजाका अनेकाअनेक नमुना प्रस्तुत गर्न थालेको छ । पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि विभाजित भएको नेकपामा सडक प्रदर्शन र सभाको प्रतिस्पर्धाको होड चलेको छ । मास-प्रदर्शनमा कसले कसलाई उछिन्ने भनेर प्रतिस्पर्धा नै देखिन्छ ।
सडकमा कसले कसरी मानिस उतारिरहेको छ, यो बहसको पाटो होला । तर, आत्मप्रचारमा भने ओली पक्षले विभाजित नेकपाको अर्को समूह र अन्य राजनीतिक दललाई धेरै पछि छाडेको छ ।
गलबन्दीदेखि पोलसम्म केपी ओली, मञ्च नै ढाक्ने प्रतिमा !
२०७६ वैशाख ९ गते ७०औं कम्युनिस्ट पार्टीको स्थापना दिवसको सन्दर्भमा पारेर प्रज्ञा भवन कमलादीमा कार्यक्रम आयोजना गरेको थियो । मञ्चको दायाँबायाँ दिवंगत नेताहरूको तस्बिर त राखिएको थियो ।
कम्युनिस्ट आन्दोलनमा योगदान दिएका व्यक्ति, व्यक्तित्वहरूको भन्दा ठूलो तस्बिर पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राखिएपछि नेता कार्यकर्ता क्षुब्ध बनेका थिए । वरिष्ठ नेता माधवकुमार नेपालले त ‘यो पार्टीमा अरू नेताको कुनै स्थान छैन, एकताको अरू नेताको भूमिका नै छैन ?’ भन्दै तीव्र असन्तुष्टि जनाए ।
त्यतिबेला नेता नेपाल त्यतिबेला मञ्च नै छाडेर आफ्नो निर्वाचन क्षेत्र, साँखुतिर गएका थिए । झलनाथ खनालले आफ्नो कुर्सी ओगटिएको विरोधमा नेता नेपालले मञ्च छाडेको चर्चा नभएको होइन, तर असन्तुष्टिको पृष्ठभूमिमा कम्युनिस्ट पार्टीभित्र हुर्किंदै गएको आत्मप्रचारको तृष्णा प्रष्टै देखिन्थ्यो ।
गत माघ १५ गतेदेखि १९ गतेसम्म चलेको दोस्रो केन्द्रीय कमिटी बैठकमा पनि नेताहरूको आत्मप्रचारको विषयले राम्रै चर्चा पायो । भित्रभित्रै झाँगिएको असन्तुष्टि केन्द्रीय सदस्यहरूमार्फत मुखर भयो । केन्द्रीय सदस्य राजेन्द्र राईले ‘जिउँदा नेताहरूको फोटा टाँगेर के अब हामी सामन्ती व्यस्थातिर फर्कन थालेको हो ? के कम्युनिस्ट पार्टीले हिजोको राजतन्त्रकै सिको गरेको हो ? भन्दै प्रश्न उठाए । लेखनाथ न्यौपाने, ठाकुर गैरेले पनि त्यसमा सही थपे ।
विरोध बढेपछि उप्रान्त मञ्चमा जीवित नेताको फोटा नराख्ने भन्न शीर्ष नेता बाध्य भएका थिए । तेस्रो केन्द्रीय कमिटी बैठक नसकिँदै नेकपाले विभाजनको बाटो ततायो ।
पार्टी विभाजनपछि ओली समूहले आत्मप्रचारलाई संस्थागत रूपमै अघि बढाएको देखिन्छ । यो ओली समूहको पार्टीगत संस्कारको अङ्ग बनेको छ । र, यसले प्रणालीकै आकार ग्रहण गर्ने हो कि भन्ने सङ्केत पनि देखाउँदै छ । बिहीबारको सभामा पनि यसको झल्को देखिन्थ्यो ।
पार्टी फुटेपछि ओली समूह प्रधानमन्त्रीको ‘देवत्वकरण’ गर्न लागि परेको छ । ‘राष्ट्रनायक’, ‘राजनेता’, ‘राष्ट्रियताको पहरेदार– मियो’ आदि थामी नसक्नुका विम्ब भिराउँदै ‘नायक’ बनाएर प्रस्तुत गरिरहेको छ । असन्तुष्टिको स्वर त्यो समूहभित्र पनि छ । तर, आत्मप्रचारको फैलँदो चिन्तनले त्यसलाई कुण्ठित तुल्याइरहेको बुझ्न कठिन छैन ।
यसलाई अझ बढावा दिन गलबन्दीदेखि स्वयंसेवकका बर्दीसम्ममा ओलीको फोटो छापिएको छ । शाहीकालीन नागरिक अभिनन्दनको झल्को दिनेगरी बुधबार युवा सङ्घले मोटरसाइकल र्याली अगाडि केपी ओलीको प्रतिमालाई गाडीमा राखेर नगर परिक्रमा गरायो ।
काठमाडौंको आमसभामा ‘आत्मप्रचार’को नमुना अझ गाढा रूपमा प्रस्तुत गरियो । मञ्चमा बाह्र फिट अग्लो पूर्णकदको प्रतिमा राखिएको थियो भने पोलपोलमा केपी ओलीका फोटा टाँगेर ‘देवत्वकरण’को तिर्खा मेटाइरहेको प्रतीत हुन्थ्यो । मञ्चमा राखिएजस्तो प्रतिमा सडक र सुरक्षा घेराका दायाँबायाँ पनि राखिएका थिए ।
आन्दोलनमा जे देखियो
पुस ५ गतेको कदमपछि नेकपाको अर्को समूह, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह सडक आन्दोलनमा केन्द्रित भएको छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति विभिन्न रूपमा असन्तुष्टि प्रकट गरिरहेको छ । जनतालाई आन्दोलित हुन, विरोधमा सडकमा आउन आह्वान पनि गरिरहेको छ ।
प्रधानमन्त्रीविरुद्ध तेस्रो जनआन्दोलन नै आवश्यक भएको भन्दै कार्यकर्तालाई सङ्घर्षतिर धकेली पनि रहेको छ ।
तर, आफ्नो कदमको बचाउ गर्न सत्ता नै सडकमा आएको भने यो पहिलो परिघटना हो । सञ्चार क्षेत्र, नागरिक समाज, राजनीतिक दल कतै, कहीँबाट पनि समर्थन पाउन नसकेपछि आफ्नो समूहमा आबद्ध नेता-कार्यकर्ता लिएर सडकमा ओलर्नुपर्ने उसको बाध्यता देखिन्छ ।
प्रचण्ड-नेपाल समूहसँग समानान्तर गति, वेगमा कार्यक्रम गरिरहेको ओली समूहले आजको जनप्रदर्शनमा प्रधानमन्त्रीले विशेष घोषणा गर्ने भन्दै ध्यान खिचेको थियो । सभामा आउन निम्तो बाँडेको थियो ।
माघ १२ गते जनसभाबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षामन्त्रीसमेत रहेका कृष्णगोपाल श्रेष्ठले त्यही भनेका थिए । त्यसपछिका आयोजना भएका कार्यक्रमहरूमा प्रधानमन्त्रीले पनि त्यसो भन्दै आएका थिए ।
तर, शुक्रबार अपेक्षित त्यस्तो घोषणा भएन ।
बरु, प्रधानमन्त्री ओलीले आमसभाको औचित्यबारे प्रकाश पार्ने चेष्टा गरेका थिए । “हामीले दुःख दिन खोजेको होइन । हामीले कार्यक्रम गर्नैपर्ने परिस्थिति बन्यो । त्यसकारण हामीले यो सभा गर्नुपर्यो । मैले अस्ति नै भनेँ- २३ गतेको सभा हेर्नुस् । २३ गतेको सभा एउटा ‘कास्टिङ’का रूपमा हुनेछ । यो कास्टिङ हो । हामीले आमसभा गर्नुपर्छ भने काठमाडौंमा सबै सडकमा स्क्रिन राखेर, सबै सडकमा साउन्ड सिस्टम राखेर, सहरभरिको गर्नुपर्ने अवस्था आउन सक्छ,” उनले भने ।
आमसभाको औचित्य खोज्दै प्रधानमन्त्रीले भने, “हामी सडकमा नआउँदा अलिअलि मान्छे लिएर, दुई-चार हजार मान्छे लिएर हामीलाई ललकार्ने काम भयो । दुई-चार हजार मान्छे लिएर केपी ओली यहाँ आऊ हेर, को हो पार्टी, कुन हो पार्टी भनेर ललकार्ने काम भयो । त्यसकारण हामी सडकमा आउनुपर्यो ।”
उनले मूल पार्टी कुन हो भनेर देखाउनकै लागि सत्तामा रहेको समूह नै सडकमा आउनुपरेको बताए ।
नागरिकलाई सास्ती, प्रधानमन्त्रीलाई मञ्चसम्मै पुग्ने सुविधा
सत्ताले आयोजना गरेको सडकसभालाई सफल बनाउन रातारात मानिस काठमाडौं उतारिएको थियो । वाग्मतीको मात्रै भनिए पनि सातै प्रदेशबाट सम्भव भएसम्म नागरिकदेखि, नेता-कार्यकर्तासम्मलाई सडकमा उतारिएको थियो । बिहीबार विभाजित अर्को समूहले आमहड्ताल गरेकाले रातारात गरेर मानिसहरूलाई काठमाडौं ल्याउनुपर्ने बाध्यता थियो नै ।
अङ्ग्रेजीको ‘टी’ आकारको र इतिहासमै पहिलोपल्ट नारायणहिटीको पटाङ्गिनीमा सभाको आयोजना गरे पनि मौसम भने अनुकूल भएन । बेला पानी छिट्टयाएर मञ्च छिटो उठाउन मौसमले घच्घच्याइरह्यो ।
वाग्मती प्रदेश कमिटीलाई आयोजन बनाइएको सभालाई प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले सम्बोधन गरेका थिए । मण्डललाई मञ्चमा स्थान दिएर मधेस रिझाउने सत्ताको प्रयत्न पनि देखिन्थ्यो ।
देशभरिबाट सकेजति कार्यकर्ता उतारेर काठमाडौंको आवागमन प्रभावित पारिए पनि प्रधानमन्त्रीले भने दश पाइला पनि हिँड्नु परेन । प्रधानमन्त्रीलाई जय नेपाल सिनेमा हलतर्फको बाटो भएर मञ्चसम्मै पुग्ने सुविधा मिलाइएको थियो । प्रधानमन्त्री ओलीको स्कर्टिङसहितको सवारी मञ्चको पछाडिसम्मै पुगेको थियो ।
आमसभाको सुरक्षा पनि चुस्त तुल्याइएको थियो । शान्ति, सुरक्षामा कुनै तलवितल होला भनेर तीनवटै सुरक्षा अङ्ग चनाखो देखिन्थे । र, दरबारमार्गका प्रत्येक घरका छतमाथि सशस्त्र र नेपाल प्रहरी तैनाथ थिए ।
पञ्चायत, बहुदलीय व्यवस्थायता पहिलोपल्ट नारायणहिटीअगाडि आमसभास्थल रोजिएकाले सडकको डिभाइडर बिहीबारै हटाइएको थियो । मञ्चको सुरक्षा सावधानी पनि उत्तिकै अपनाइएको देखिन्थ्यो । २० मिटरवरै चारैतिरबाट तारबारले छेकेर मञ्चलाई सुरक्षित र खुला तुल्याइएको थियो । तथापि, प्रधानमन्त्रीले मञ्चबाट नारा लगाउन हौस्याएपछि स्वयंसेवकलाई भिड शान्त तुल्याउन हम्मे परेको थियो ।
-तस्बिर : हरिशजंग क्षेत्री