वीरगञ्ज । पर्सा नर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ स्थित मनियारी गाउँमा निर्माण हुनलागेको ढलान सडक र नालाको शिलन्यास गरेका छन् ।
५० लाख रुपैयाँको लागतमा गाउँमा निर्माण गर्न लागिएको ढलान सडक र नालाको सांसद् यादवले शुक्रबार एक कार्यक्रम बीच शिलान्यास गरेका हुन् ।’
शिलन्यास कार्यक्रममा बोल्दै सांसद् यादवले दशकौँदेखि जनताको मत लिएर सरकार बनाउँदै आएका काङ्ग्रेस र कम्युनिष्टले कुनै काम नगरेको कारण मधेसको विकास नहुन सकेको आरोप लगाए ।
सांसद् यादवले आफ्नो कार्यकालमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा विकास निर्माणका सबैभन्दा धेरै काम भएको दावी समेत गरे ।
‘काङ्ग्रेस र कम्युनिष्टहरु यो क्षेत्रबाट कयौँ पटक निर्वाचित भएर गएका छन् तर आजसम्म यहाँ एउटा ढलान सडकसमेत निर्माण गर्न सकेका छैनन्,’ सांसद् यादवले भने, ‘उनीहरुको कारण मधेसमा अहिलेसम्म विकास हुनसकेको छैन । म निर्वाचित भएर आएदेखि यस क्षेत्रमा सबैभन्दा धेरै विकास निर्माणका काम हरु सुरु भएका छन् ।’
यादवको विशेष पहलमा सङ्घ सरकारको शहरी विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट निर्माण हुनलागेको १ सय ७५ मिटर लामो सडक ढलान र नाला निर्माणको कार्य उपभोक्ता समिति मार्फत गरिंदै छ ।
मनियारी टोल उपभोक्ता समितिले निर्माण गर्न लागेको ढलान सडकको चौडाई २० फिट हुनेछ । सडकको दुवै तर्फ २/२ फिटको फराकिलो नालापनि निर्माण गरिने उपभोक्ता समितिका सचिव सुनिल साहले बताए ।
सडक निर्माण हुनेभएपछि स्थानीय हर्षित छन् । सडक नहुँदा वर्षायाममा हिलो र गर्मिको समयमा धुलो-धुवाले स्थानीय पिडित थिए । सडक निर्माण भएपछि स्थानीयहरुको शहरी क्षेत्रसम्मको पहुँचपनि बढ्ने सचिव साहले विश्वास व्यक्त गरे ।