जनकपुरधाम | बजार बन्द गराउँदै हिँडेका आन्दोलनरत समूह र प्रहरीका बिच भिडन्त हुँदा आन्दोलनमा उत्रिएका नेता तथा कार्यकर्ताहरु घाइते भएका छन्। प्रतिनिधिसभा विघटन, संवैधानिक निकायमा एकलौटी नियुक्ति लगायतका विषयलाई लिएर आन्दोलन रत नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल समूह र प्रहरीबि झडप भएको हो।
प्रहरीसँगको झडपमा नेकपा स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन्। झासँगै नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री मातृका प्रसाद यादव पनि घाइते भएका छन्। शहीदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया पनि घाइते भएका छन्। त्यसैगरी कारी यादव र प्रदीप साह घाइते छन्।नेता रामचन्द्र झा हुन् गम्भीर घाइते छन्। एक जना प्रहरी जवान लालबाबु राय पनि घाइते भएका छन् ।
बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाइ प्रहरीले अवरोध सृजना गरे पछि झडप भएको थियो। सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट घाइते भएका झाको टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिए। नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।ना १ क ५१२ नम्बरको प्रहरीको गाडी र ज १ च १५७० नम्बरको मालसामान ढुवानी गर्ने निजी गाडीमा समेत प्रदर्शनकारीले तोडफोड गरेका छन्।