वीरगञ्ज । स्रोत नखुलेको लाखौँ भारतीय र नेपाली रुपैयाँसहित वीरगञ्जका एक मनीचेञ्जर व्यवसायीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ स्थित मनोकामना मनीचेञ्जरमा छापामारी गरेर सञ्चालक गोपाल प्रसाद सोनार (सर्राफ) लाई भारतीय ५ लाख ८५ हजार १ सय रुपैयाँ र नेपाली ३ लाख ९२ हजार ९० रुपैयाँसहित पक्राउ गरेको हो ।
लामो समयदेखि मनीचेञ्जरको आडमा अवैध भारतीय रुपैयाँको कारोबार गरिरहेका उनी अन्तत: प्रहरीको गिरफ्तमा आएका छन् । स्थानीय अनुसार सर्राफले मनीचेञ्जरको नाममा हुण्डीको कारोबारसमेत गर्ने गरेका छन् ।सर्राफले स्रोत नखुलेको लाखौँ भारतीय रुपैयाँ राखेको विशेष सूचना प्राप्त गरेपछि प्रहरीले मनीचेञ्जरमा छापामारी गरेको थियो । छापामारी गर्ने क्रममा उनी विभिन्न रङ्गे हात पक्राउ परेका थिए ।
प्रहरीले मनीचेञ्जरबाट ५ सय रुपैयाँको १ हजार १ सय १५ थान, २ सय रुपैयाँको ७० थान, १ सय रुपैयाँको ४१ थान र ५० रुपैयाँको १ सय ७० थान भारतीय नोट गरी ५ लाख ८५ हजार १ सय रुपैयाँ बरामद गरेको थियो । त्यसैगरी १ हजार रुपैयाँको २ सय ४० थान, ५ सय रुपैयाँको २ सय ७० थान, १ सय रुपैयाँको ८५ थान, ५० रुपैयाँको १ सय ३८ थान २० रुपैयाँको ४५ थान १० रुपैयाँको ५१ थानमा ५ रुपैयाँको ५६ थान नेपाली नोट गरी ३ लाख ९२ हजार ९० रुपैयाँ बरामद गरेको थियो । त्यस्तै प्रहरीले सर्राफले प्रयोग गर्ने एक थान मोबाईलसमेत जफत गरेको छ ।
जफत गरिएको सम्पूर्ण रकम र सर्राफलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।