बिरगंज ।निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाको पुष्पकमल दाहाल (प्रचण्ड) माधवकुमार नेपाल पक्ष सहभागी नभएपछि पुनः अर्को बैठक आयोजना गर्ने भएको छ ।निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनी नेकपाको दुवै पक्षलाई बोलाएको शुक्रबारको छलफलमा प्रचण्ड–माधव पक्षले सहभागिता नजनाएपछि आयोगले पुनः अर्को बैठक बोलाउने भएको छ ।
शुक्रबार प्रचण्ड–माधव पक्षले अध्यक्षद्वय कार्यक्रमको शिलशिलामा उपत्यकाबाहिर रहेको र छलफलमा अध्यक्ष स्वयं उपस्थिति हुन चाहेको भए पनि १८ गतेसम्म उपस्थिति हुन नसक्ने औपचारिक पत्रसाथ जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको तर्फबाट नेता सुवासचन्द्र नेम्वाङसहित नेपाल सरकारका मन्त्रीहरुको उपस्थितिमा निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुसँग अनौपचारिक छलफल गरिएको उनको भनाइ छ ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबाट आयोगले निर्वाचनको तयारीको सम्बन्धमा हालसम्म गरेका प्रगतिको बारेमा जनकारी गराएको र निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोगले तयारी गरेको तथा निर्वाचन सम्पन्न गर्न राजनीतिक दलबाट आयोगले सहयोगको अपेक्षा गरेको बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आयुक्त पौड्यालले निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक दलहरुबाट उपयुक्त राजनीतिक वातावरण सिर्जना हुनुपर्ने भन्दै त्यसको जिम्मेवारी राजनीतिक दलको नै भएको स्पष्ट पारेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।आयोगले अर्को बैठक उपयुक्त समयमा बोलाउने आयुक्त पौडेलले बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।