वीरगंज | लगानी बोर्डले तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनी सतलज जलविद्युत विकास निगमलाई दिने निर्णय गरेको छ|शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सार्वजनिक निजी साझेदारी अन्तर्गत बुट मोडलमा आयोजना निर्माणको जिम्मा सतजलाई दिने निर्णय गरेको हो। ६७९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त आयोजना अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको भारतीय कम्पनीलाई नै दिने निर्णय बोर्डले गरेको हो।
२०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा यो आयोजना पनि संभाव्य लगानीको सूचीमा समावेश गरी विदेशी लगानीकर्तासमक्ष प्रस्तुत गरिएको थियो। सतलजले ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनाको काम अघि बढाइरहेको छ।बोर्ड बैठकले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणा र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मालाई विशेषज्ञ सदस्य र बालकृष्ण शिवाकोटीलाई आमन्त्रित सदस्यको रूपमा मनोनयन गर्ने निर्णय पनि गरेको छ।
बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकले निर्देशन दिएअनुसार बोर्डको रणनीतिक योजना, परियोजना बैंक, वेबमा आधारित एकल बिन्दु सेवा, नलेज म्यानेजमेन्ट पोर्टलका विषयमा भएका तयारीको जानकारी गराएका थिए।