चरणबद्ध रूपमा खोपहरू प्राप्त हुने भएकाले नियमित रूपमा खोप अभियान चलाउँदा पनि अहिले भनिएको नेपालको जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप दिन एक वर्षभन्दा बढी समय लाग्ने उनको भनाइ छ।
गत साता भारतबाट १० लाख खोप अनुदानमा पाएपछि नेपालले बुधवारबाट कोभिड-१९ विरुद्धको खोप अभियान आरम्भ गरेको हो।
एक व्यक्तिले दुई मात्रा लगाउनुपर्ने अक्सफर्ड-एस्ट्राजेनेकाको भारतमा उत्पादित कोभिशील्ड खोप पहिलो खेपमा चार लाख ३० हजार जनालाई दिइने अधिकारीहरूले बताइसकेका छन्।
खोप अभियानको पहिलो दिन अग्रपङ्क्तिमा कार्यरत नौ हजार जनलाई खोप दिइएको थियो।
तर प्रधानमन्त्री ओलीले भने जस्तै तीन महिनामा बाँकी जनसङ्ख्याका लागि पनि खोप उपलब्ध गराउनु चुनौतीपूर्ण हुनसक्ने देखिन्छ।
स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञ तथा अधिकारीहरू खोप प्राप्तिको विषय विश्वको सबैभन्दा ठूलो खोप उत्पादक देश भारतसँग भइरहेका कूटनीतिक छलफलले निर्धारण गर्ने धारणा व्यक्त गर्छन्।
विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेती भन्छन्, “अहिले सम्म सरकारले भारतबाटै खरिद गर्ने लक्ष्य लिइरहेको छ। तर यदि त्यो तत्कालै सम्भव भएन भने हामीले कोभिड-१९ विरुद्धको खोपसम्बन्धी अभियान कोभ्याक्सबाट हाम्रो जनसङ्ख्याको २० प्रतिशतका लागि खोप कुर्नुपर्छ। मार्च-एप्रिल महिनासम्म त्यो खोप आउने उनीहरूले भनेका छन्।”
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यसै महिना नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन दिल्ली जानुअघि नै नेपालले भारतलाई पत्र लेख्दै नेपालको जनसङ्ख्याको २० प्रतिशतलाई आवश्यक खोप खरिद गर्न सहयोग गर्न अनुरोध गरेको थियो।
उक्त खोप खरिदको सम्झौता हुने या नहुने यकिन नभएपनि प्रयास भइरहेको आफूले बुझेको डा. उप्रेतीले जानकारी दिए।
“प्रधानमन्त्रीको कुराबाट पनि त्यस्तै बुझिन्छ। ‘भारतबाटै किन्छौँ, हामी ल्याउँछौँ’ भनेपछि केही त भएको होला।”
अक्सफर्ड-एस्ट्राजेनेकाले विकास गरेको खोप विश्वकै सर्वाधिक ठूलो खोप निर्माता कम्पनी सीरम इन्स्टिट्यूटले भारतमा उत्पादन गरिरहेको छ।
केही समय पहिले त्यसका अधिकारीसँग दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले छलफल गरेका विवरण आएका थिए।
गरिब तथा मध्यम आय भएका देशमा खोपको सहज पहुँच पुर्याउने प्रयास गरिरहेको कोभ्याक्सले सीरम इन्स्टिट्यूटसँगको सम्झौताअनुसार १० करोड खोपको मात्रा प्राप्त गर्ने सम्झौतालाई कार्यान्वयन गर्न लागिएको पनि उल्लेख गरेको छ।
गत साता कोभ्याक्स अभियानले डब्ल्यूएचओले अक्सफर्ड/एस्ट्राजेनेकाको खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिए सन् २०२१ को पहिलो चौमासिकमा आफ्नो अभियानमा आबद्ध कतिपय देशलाई खोप उपलब्ध गराउन थालिने जनाएको थियो।
सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता एवम् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. बुद्ध बस्न्यात झन्डै तीन करोड नेपालीलाई खोप उपलब्ध गराउन सरकार सफल भए त्यो ठूलो कूटनीतिक सफलता हुने बताउँछन्।
उनले भने, “भारतबाट १० लाख खोप प्राप्त हुनु सकारात्मक हो। सरकार त्यसमा रमाएको देखिन्छ। प्रधानमन्त्रीले भने जस्तै खोप ल्याउन पनि सम्भव हुन पनि सक्छ। तर त्यो हाम्रो खोप कूटनीतिमा निर्भर रहन्छ। त्यस्तो गर्न सरकारले सक्यो भने त्यो कूटनीतिक चमत्कार हुन्छ। मेरो विचारमा गरेर देखाउनु महत्त्वपूर्ण छ।”
उनले भारतबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै चीनले अनुमति दिएको भनिएको खोपको अनुसन्धानको विस्तृत विवरण सार्वजनिक नगरिएकाले उक्त खोप हासिल गर्ने दिशामा तत्कालै नेपाल अघि बढ्न सक्ने अवस्था नदेखिएको उल्लेख गरे।
कोभिड- १९ विरुद्धको खोप प्राप्त गर्न गरिब देशहरूलाई सकस परिरहेको विवरणहरू आइरहेका बेला खोप अभियानको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले आगामी तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्ने बताएका थिए।
“मेरो विचारमा तीन महिना लाग्न सक्छ जस्तो लाग्छ। कोही पनि नेपाली नागरिक वा नेपालमा बसोबास गर्ने व्यक्तिले निःशुल्क यो खोप प्राप्त गर्नेछ। चाहे हामी अनुदानको रूपमा यो खोप प्राप्त गरौँ जस्तो यसपल्ट हामीले प्राप्त गरेका छौँ, अथवा हामीले किन्न परोस् – हामी हाम्रा देशवासीहरूलाई निःशुल्क, बिनाभेदभाव, प्राथमिकताका आधारमा यो खोप उपलब्ध गराउनेछौँ,” उनले भनेका थिए।
उक्त कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी दिनमा खोपको उपलब्धताका आधारमा बाँकी लक्षित समूहलाई क्रमश: खोप सेवा प्रदान गरिने बताएका थिए।
विज्ञ समूहका संयोजक डा. उप्रेतीले चरणबद्ध रूपमा खोप प्राप्त हुने भएकाले नेपालले तय गरेको ७२ प्रतिशत जनसङ्ख्यालाई कोभिड-१९ विरुद्ध खोप उपलब्ध गराउन कम्तीमा एक वर्ष लाग्ने बताए।
उनी भन्छन्, “जोखिममा रहेका २० प्रतिशत जनसङ्ख्यालाई खोप प्राप्त भएको दुईदेखि तीन महिनाभित्र हामी भ्याउन सक्छौँ। तर सबैलाई गर्दा मेरो विचारमा एक वर्ष नै लाग्छ।”
पचास लाखभन्दा बढी खोप टेकुमा मात्रै भण्डारण गर्न सकिने भन्दै उनले अक्सफर्ड-एस्ट्राजेनेकाको खोप भण्डारणका लागि समस्या नरहेको बताए।
नेपालले खरिद गर्ने इच्छा देखाएको खोप प्राप्तिमा भारत सरकारबाट सहयोग भए र कोभ्याक्स अभियानअन्तर्गत समयमै खोप आए नेपालले ठूलो अप्ठेरो भोग्नु नपर्ने डाक्टर उप्रेतीको विश्वास छ।
डेढ साता अघि विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले तीन करोड ९० लाखभन्दा बढी खोप उच्च आय भएका कम्तीमा ४९ देशमा दिइसकिएको तर कम आय भएका एउटा देशमा जम्मा २५ वटा मात्रै खोप दिइएको जनाएका थिए।
डब्ल्यूएचओको कार्यकारी बोर्ड बैठकमा उनले खोपमा समान पहुँच नभएकाले विश्व भीषण नैतिक विफलताको सँघारमा रहेको धारणा राखेका थिए।
खोप भण्डारण गर्ने धनी राष्ट्रको प्रवृत्ति र हासिल गर्ने प्रतिस्पर्धाले नेपालजस्ता देशलाई आफ्ना नागरिकसम्म कोभिड-१९ को खोप पुर्याउन थप जटिलता थप्ने विज्ञहरूको बुझाइ छ।