वीरगंज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।
ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए । ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिइएको थियो । तर, ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकै दिन पुस ५ मा बसेको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले ओलीमाथि पार्टी अनुशासनको कारबाही अगाडि बढाउने निर्णय गरेको थियो ।
त्यहिअनुसार पुस ७ को केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई ल्याएको थियो ।