मकवानपुर|हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द भएको छ। हेटौंडालाई काठमाडौं जोड्ने परिचित छोटो मार्ग हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं सडक खण्डअन्तर्गत् निर्माणाधीन आयोजना क्षेत्रमा माघ १० गते शनिबारदेखि दुई महिनाका लागि सवारीसाधन आवतजावतमा रोक लगाइएको हो ।
बागमती प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा परिचित उक्त सडक खण्डअन्तर्गत् निर्माणाधीन आयोजना क्षेत्रमा चैत १० गतेसम्म सबै प्रकारका सवारीसाधन आवतजावतमा रोक लगाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो। भीमफेदी–कुलेखानी १६ किलोमिटर सडकखण्डमा मोडसुधार, सडक चौंडालगायत कार्य जारी छ ।
उक्त सडकखण्ड भएर ओहोरदोहोर गर्नेलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । भीमफेदी–कुलेखानी सडक बन्द भएपछि हेटौंडाबाट काठमाडौं आउजाउमा त्रिभुवन राजपथ, कान्तिलोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ । यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेश हेटौंडाअन्तर्गत् आयोजना विस्तार तथा स्तरोन्नतिका लागि निमार्णाधीन क्षेत्रमा आयोजना प्रयोजनबाहेक सवारीसाधन आवतजावतमा रोक लगाउने निर्णय भएको हो ।
प्रदेश सरकारको आर्थिक लगानीमा भीमफेदी–देउराली हुँदै कुलेखानीसम्म १६ किलोमिटर सडक स्तरोन्नति कार्य तोकिएको समयमा गुणस्तरीय निर्माण गर्नुपर्ने भएकाले विभिन्न सरोकारवाला प्रतिनिधिबीचको छलफलपश्चात् यस्तो निर्णय भएको प्रजिअ रिजालले बताउनुभयो। करिब ३५ करोड लगानीमा विसं २०७८ असार मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ ।