बारा | अमलेखगन्ज सडक खण्डमा पर्ने पर्सा राष्ट्रिय निकुञ्जको आधाभारमा चितुवाले मोटरसाइकल चढेकामाथि आक्रमण प्रयास गर्दा २ जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । बाराको विश्रामपुर गाउँपालिका–१ का २५ वर्षीय मुन्ना पडित कुम्हाल र नाम नखुलेका मोटरसाइकल चालक सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।
लोकसेवा आयोगको परीक्षा दिन हिँडेका कुम्हाल ती मोटरसाइकल चालकसित लिफ्ट मागेर हेडौंडातर्फ जाँदै थिए । ‘बिहान ७ बजे बाटो काट्ने क्रममा चितुवाले आक्रमण प्रयास गरेपछि बाइकसहित लड्यौं, हामी दुबै जनाको टाउकोमा सामान्य चोट लाग्यो, चितुवा जंगलतर्फ भाग्यो ।’ डरले आफूहरु बाटैमा लडेको उनले बताए ।
निकुञ्जका सूचना अधिकारी रमेश यादवले चितुवाले बाइकवालालाई आक्रमण गरेको र दुबै जनाको अवस्था सामान्य रहेको बताए । केही साताअघि निकुञ्जको त्यही क्षेत्रमा कारको ठक्करबाट पाटे बाघको मृत्यु भएको थियो |केही सातायता पथलैया–निजगढ पूर्वपश्चिम राजमार्गको सहजनाथ जंगल क्षेत्रमा बाघ आउजाउ गरेपछि स्थानीय त्रसित छन् ।