काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले प्रहरीले आफूहरुलाई कुटपिट गरेको बताएका छन् । कार्यालयबाट फर्किने क्रममा प्रहरीले नै आफूहरुलाई बिहीबार साँझ दुर्व्यवहार गर्दै कुटपिट गरेको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको गुनासो छ ।
सञ्जु लामा र क्रिष्टिना कालीलाई प्रहरीको कुटपिटबाट चोट लागेपछि पाँच/पाँच टाँका लगाएको नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङले जाकारी दिइन् । “अफिसबाट फर्किने क्रममा बसपार्कमा सुरुमा प्रहरीले अपशब्द प्रयोग गर्दै जिस्काएर पछि नियन्त्रणमा लिएर कुटपिट गरेको हो,” गुरुङ भन्छिन्, “उनीहरुको टाउकोमा चोट लागेको छ । ढाडमा लठ्ठीले कुटेको डाम छ । अरु पनि थुप्रै साथीहरुलाई प्रहरीले कुटपिट गरेको छ ।”
यता, महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रमेश विष्टले भने आममानिसलाई अभद्र व्यवहार गरेपछि कानुनबमोजिम कारबाही गरेको बताएका छन् । “आममान्छेलाई अभद्र व्यववाहार गरेपछि हामीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएका हौं । तर, बल प्रयोग गरेका हैनौं,” प्रवक्ता विष्टले भने । उनले १६ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको बताए ।
नीलहीरा समाजकी अध्यक्ष गुरुङले नियन्त्रणमा लिएर प्रहरीले नै कुटपिट गरेको दाबी गर्दै प्रश्न गर्छिन्, “बल प्रयोग नगरेको भए कसरी चोट लाग्छ ? प्रहरीसँग कुरा गर्दा प्रहरीले आफैं चोट लागेको भन्छ । ढाडमा लाठीका सुम्ला छन् । टाउको फुटेको छ । सामान्य मान्छेले पनि कुटपिट गरेको सहजै अनुमान गर्नसक्छ । त्यसमा पनि घाइते स्वयंले भनिरहनुभएको छ । प्रहरीले नै कुटपिट गरेपछि कोसँग न्यायका लागि अपिल गर्ने ?”
प्रहरीले नै मानव अधिकार हनन् गरेको उनको गुनासो छ ।