वीरगन्ज ।स्मल फक्स (बिफर)ले अनगिन्ती मानिसहरुको ज्यान लियो। २० औं शताब्दीमा सन् १९८० मे ८ मा उन्मुलनको घोषणा हुनु अगाडिसम्म बिफर एक्लैले ३० करोड मानिसको ज्यान लिएको थियो। विश्वमा करिब तीन हजार वर्षसम्म रहेको मानिने बिफरको भ्याक्सिन सन् १७९६ मा एडवर्ड जेनरले विकास गरेका थिए।
विश्व स्वास्थ्य संगठनले बिफर उन्मुलनका लागि १९६७ मा तीब्र योजनाहरु सुरु गरेको थियो। बिफरको अन्तिम केस सोमालियामा १९७७ लाई मानिन्छ। सन् १९८० मा डब्लुएचओले बिफर उन्मुलनको घोषणा गरेसँगै जनस्वास्थका क्षेत्रमा यो ऐतिहासिक उपलब्धि भइदियो।
नेपालमा सन् १९६२ मा बिफर रोकथामका लागि कार्यक्रम सुरु भएको थियो। १९६७ मा बिफर उन्मुलन कार्यक्रम सुरु भएको थियो। नेपालमा बिफरको अन्तिम केस ६ अप्रिल १९७५ मा फेला परेको मानिन्छ। नेपालले २०३४ को नयाँ वर्षको दिन (अप्रिल १३ १९७७)मा बिफर उन्मुलनको घोषणा गरेको थियो।
मे ८ लाई दोस्रो विश्व युद्धको अन्त्य भएको दिनको रुपमा मनाइन्छ। तर, यसको महत्त्व अर्को पनि छ। ४० वर्ष अगाडि त्यही दिन बिफरको पनि उन्मुलन भएको थियो।
जनस्वास्थ्य वैज्ञानिकहरु यतिखेर कोभिड-१९ विरुद्धको लडाइमा जुटिरहेका छन्। उनीहरु यसको उन्मुलनको लागि खोजमा जुटिरहेका हुन्। बिफरको इतिहासले पनि कोभिड-१९ उन्मुलनका लागि एउटा शिक्षा भने दिने छ।
२० औं शताब्दीको सुरुवातमा अमेरिका तथा युरोपमा उन्मुलन भएको बिफरले अफ्रिका, एसिया तथा ल्याटिन अमेरिकामा भने १९५० को दशकसम्म मानिसहरुको ज्यान लिइरहेको थियो।
१९६७ मा डब्लुएचओले बिफर उन्मुलन कार्यक्रम सञ्चालन गर्दा रोग निगरानी, पहिचान, कन्ट्याक्ट ट्रेसिङ, आम सञ्चार अभियान- ‘ब्रेड एण्ड बटर’ अर्थात जनस्वास्थ्यका सबै उपायहरु अपनाइएको थियो। त्यसका साथसाथै भ्याक्सिन पनि महत्त्वपूर्ण हिस्सा थियो। संयुक्त राज्य अमेरिका र सोभियत युनियन आफैँमा युद्धको अवस्थामा रहे पनि यो अभियानलाई संयुक्त रुपमा नेतृत्व गरिरहेका थिए। बिफर उन्मुलन अगाडि बंगलादेशमा अन्तिम केस १९७५ र सोमालियामा १९७७ मा देखिएको थियो।
बिफर उन्मुलनलाई विश्वको इतिहासमा जनस्वास्थको ठूलो विजयको रुपमा डब्लुएचओको महासचिव डाक्टर डेड्रोस अधानोम घेब्रेयससले बताउँदै आएका छन्।
‘अहिले विश्व कोभिड-१९ महामारीविरुद्ध लडिरहेको छ। बिफरमाथि मानवताको विजयले हामीलाई सम्झाइरहेको छ कि राष्ट्रहरु हाम्रा साझा स्वास्थ्य चुनौती विरुद्धको लडाइ लडे भने के सम्भव छैन भनेर,’ उनले भन्दै आएका छन्।
भ्याक्सिन कोभिड-१९ विरुद्धको लडाइको महत्त्वपूर्ण हतियार भइकन पनि अर्को महत्त्वपूर्ण हतियार छुटिरहेको उनले बताउँदै आएका छन्।
‘बिफर माथिको विजयको निर्णायक कारक भनेको विश्वव्यापी ऐक्यवद्धता हो,’ उनले भनेका थिए,’शितयुद्धको समयमा पनि सोभियत युनियन र अमेरिकाले साझा शत्रु विरुद्धको लडाइमा हात बढाए। उनीहरुले भाइरसले देश र विचारलाई सम्मान नगर्ने बताए। हो त्यही ऐक्यवद्धता र राष्ट्रिय एकता आजको आवश्यकता हो- कोभिड- १९ विरुद्धको लडाइमा हिजोभन्दा पनि बढी।’
बेलायतको किङ्स कलेजका उप प्राध्यापक काइट्जान गेइन्टी र व्रिस्टोल युनिभर्सिटीको हिस्ट्री अफ मेडिसिनका रिसर्च फेलो अग्नेस अर्नोल्ड- फोर्स्टरले कोभिड-१९ नियन्त्रण भ्याक्सिनले मात्र नहुने दी कन्भरसेसनमा लेखेका छन्। अहिले विश्वका देशका नेताहरुले कोभिड-१९ को भ्याक्सिन आए पनि कोभिड-१९ नियन्त्रणमा आउने र जनजीवन सामान्य हुने भन्दै आएका छन्। भ्याक्सिनको परीक्षण भइरहेका छन्। सुरुङको अन्तिम बिन्दुमा भ्याक्सिनको एउटा प्रकाश देखिँदै छ।
नेपालमा पनि भ्याक्सिन छिट्टै आउने प्रचार भइरहेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणमा पहिलो प्राथमिकतामा कोभिड-१९ को भ्याक्सिन नै रहेको बताइएको छ। नेपालले अनुदान र जीटुजी गरी एक करोड २० लाख डोज भ्याक्सिन ल्याउने बताएको छ।
अहिलेको अवस्थामा कोभिड-१९ को खोप अभियानले नै सार्स सीओभी-२ उन्मुलनको सम्भावनमा नरहेको कन्भरसेनको लेखमा उल्लेख छ। ‘बिफर खोपको इतिहासलाई हेर्दा, अझ त्यो भन्दा पनि हर्ड इम्युनिटीको बारे तल्लो तहमा हुँदा हामीले खोपमा धेरै आशा राख्यौं भने यो अझ कठिन हुनेछ।’
हालसम्म विश्वमा २० लाख बढी मानिसको कोभिड-१९ को कारण मृत्यु भएको छ। ९ करोड ५० लाख बढीमा संक्रमण पुष्टि भइसकेको छ। भाइरसका नयाँ नयाँ स्ट्रेनहरु देखिँदै आएका छन्। कोभिड-१९ को लण्डन स्ट्रेन घातक देखिँदै आएको बताइको छ। लण्डन स्ट्रेन नेपालमा पनि तीन जना संक्रमण पुष्टि भएको छ।
केही स्थानमा भ्याक्सिनविना नै कोभिड-१९ शून्यमा झारिएको उदाहरणले केही हौसला प्रदान पक्कै गर्छ। कोभिड-१९ को उन्मुलन प्राविधिक रुपमा सम्भव नभए पनि यो अत्यन्त चुनौतीपूर्ण भने छ। यसका लागि विश्वव्यापि साझेदारी आवश्यक छ। त्यो पनि वर्षौंसम्मको प्रयासपछि मात्र उन्मुलन हुने छ। त्यसैले पनि विश्व समुदायले कोभिड-१९ नियन्त्रणको भावी योजनासहित अगाडि बढ्न आवश्यक छ। गाभीका लागि ली ह्याम्पटोले लेखेका छन्- ‘आदर्शको कुरा गर्दा मानवताले कोभिड-१९ लाई परास्त गर्नेछ। कुनै रक्षात्मक उपाय नभए पनि नयाँ केसहरु हुने छैनन्। यद्यपि, अन्य रोग उन्मुलनका कार्यक्रमका अनुभवहरुले के भन्छ भने यो अत्यन्त चुनौतिपूर्ण र प्राविधिक रुपमा असम्भव जस्तै पनि हुनेछ।’
डब्लुएचओले पनि भ्याक्सिनले मात्र कोभिड-१९ नियन्त्रणमा नआउने बताएका छन्। सन् २०२० को अन्तिम प्रेस सम्मेलनका क्रममा डब्लुएचओका आपतकालीन कार्यक्रममा प्रमुखले अर्को ठूलो महामारी आउन सक्ने संकेतसमेत गरेका थिए।
सोही कार्यक्रममा डब्लुएचओका रोग विज्ञ डेभिड हेइमनले खोपले घातक रोगहरु उन्मुलन हुन्छन् भन्ने ग्यारेन्टी नभएको बताएका थिए।
उनीमात्र होइन, विश्वका महामारी रोग विशेषज्ञहरुले पटकपटक भ्याक्सिनले कोभिड-१९ उन्मुलन हुने सम्भावना नरहेको दाबी गर्दै आएका छन्। लामो समयसम्म कोभिड-१९ समुदायमा रहने र भ्याक्सिनले नियन्त्रण गर्न सकिने भए पनि उन्मुलनको सम्भावना नरहेको विभिन्न रोग उन्मुलनको इतिहासले पनि पुष्टि गर्दै आएको छ।
त्यसका लागि पहिला त विश्वव्यापी ऐक्यवद्धता आवश्यक छ। जसरी बिफर नियन्त्रणका लागि शित युद्धको अवस्थामा पनि सोभियत युनियन र अमेरिकाले बिफरविरुद्ध एक भएर उभिएका थिए। त्यस्तैगरी कोभिड-१९ विरुद्ध पनि आपसी मतभेदलाई पन्छाएर कोभिड-१९ विरुद्ध अन्तर्राष्ट्रिय जगत साथै राष्ट्रिय एकता आवश्यक छ।