वीरगञ्ज । तराई-मधेस क्षेत्रमा विगत केहि दिनदेखि बाक्लो हुस्सु र कुहिरोसहित शीतलहरले गर्दा चिसो बढेपछि वीरगञ्ज महानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण निजि र सामुदायिक विद्यालय बन्द हुने भएका छन् । अत्याधिक चिसो बढेपछि बालबालिका विद्यालय जान नसक्ने गरी मौसम प्रभावित भएको कारण विद्यार्थीहरुको स्वास्थ्यमासमेत प्रतिकुल असर पर्न सक्ने बताउँदै महानगरपालिका भित्रका सम्पूर्ण विद्यालय तिन दिनका लागि बन्द हुने भएका हुन् ।
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) पर्सा, आवाशीय विद्यालय सङ्घ (एनप्याब्सन) र नेपाल शिक्षक महासङ्घ पर्साले महानगरपालिकाको शैक्षिक महाशाखासँगको समन्वयमा भोली आइतबारदेखि मंगलबारसम्मका लागि सम्पूर्ण निजि र सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सन वीरगञ्ज महानगर कमिटिका अध्यक्ष आलोक कुमार चौरसियाले जानकारी दिए । ‘चिसो धेरै बढेको छ । बालबालिका अहिले विद्यालय आएर पढ्न सक्ने अवस्था छैन,’ अध्यक्ष चौरसियाले भने, ‘त्यसैले अहिलेको लागि तिन दिन विद्यालय बन्द गर्दै छौँ । मौसममा सुधार नआए पुन: बैठक गरेर केहि निर्णय गर्नेछौँ ।’
चौरसियाले अहिले चिसो बढेपछि बिदा दिँदा आगामी दिनमा हुने बिदाहरुलाई मिलान गरिने जानकारी दिए । ‘कोरोनाभाइरस माहामारीका कारण महिनौँ पठन-पाठन प्रभावित भएको छ । अहिले विदा दिने अवस्थामा हामी छैनौं तरपनि चिसोले गर्दा विदा दिनुपर्ने बाध्यता छ । अहिलेको विदालाई पछि अन्य विदाको दिनमा मिलान गरिने छ,’ चौरसियाले भने ।चौरसियाले चिसो बढेको कारण बालबालिकाहरुलाई अत्यावश्यक बाहेक घरबाट बाहिर निस्किन नदिन अभिभावकसँग आग्रहपनि गरेका छन् । नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष विनोद महेताले पनि चिसोको समयमा बालबालिकाहरुलाई उच्च सतर्कता अपनाउँन आग्रह गरेका छन् ।