वीरगंज | महाभारतको युद्धमा अनेकौं शक्तिशाली योद्धाहरूले भाग लिएका थिए । कौरव र पाण्डवबीचको यो लडाईंमा दुवैतर्फका योद्धाले एकअर्कालाई कडा टक्कर दिएका थिए ।
यहाँ हामी यस्तै एक योद्धा महाबली भीमको चर्चा गर्दैछौं । उनमा हजारवटा हात्तीको बल थियो र उनले नर्मदा नदीको प्रवाहलाई समेत रोकिदिएका थिए ।
तर भीममा यति धेरै शक्ति आयो कसरी ? अलिकति पृष्ठिभूमिमा जाऔं ।
यदुवंशी राजा शूरसेनको पृथा नामक कन्या र वसुदेव नामक पुत्र थिए । कन्यालाई शूरसेनले आफ्नी फुपुको सन्तानहीन छोरो कुन्तीभोजलाई दिए । कुन्तीभोजले कन्याको नाम कुन्ती राखे । कुन्तीको विवाह पाण्डुसँग भयो ।
कुन्तीले दुर्वासा ऋषिको सत्कार गरेर उहाँलाई खुशी तुल्याएपछि देवतालाई बोलाउने वरदान पाइन् । मन्त्रलाई जाँच्नका लागि उनले सूर्यदेवलाई आह्वान गरिन् । सूर्यदेव आए र उनलाई छोरा कर्ण प्राप्ति हुने वरदान दिए । अविवाहित कुन्तीले लोकलाजको भयले कर्णलाई खोलामा बगाइदिइन् ।
पाण्डुले कुन्तीबाहेक माद्रीलाई पनि बिहे गरे । पछि उनलाई ऋषिको श्राप लागेर सहवास गर्दा मृत्यु हुने अवस्था आइलाग्यो ।
यतिखेर कुन्तीको वरदान काम लाग्यो । कुन्तीले धर्मराजलाई आह्वान गरेर युधिष्ठिर जन्माइन् । त्यसैगरी वायुदेवको अंशबाट भीम, इन्द्रको अंशबाट अर्जुन र अश्विनीकुमारको अंशबाट माद्रीको गर्भमा नकुल र सहदेव उत्पन्न भए ।
कौरव र पाण्डवहरूमा मतभेद थियो । एक योजनाअन्तर्गत दुर्योधनले धोकापूर्ण तरिकाले भीमलाई विष पिलाएर गंगा नदीमा फ्याँकेका थिए । मूर्च्छित अवस्थामा भीम बग्दै बग्दै नागलोक पुगे ।
त्यहाँ विषालु नागहरूले भीमलाई खुबै डसे । नागले डस्दा भीमको शरीरमा भएको विषको असर घट्दै गयो ।
विषको असर घट्दै गएपछि भीम बौरिए अनि नागहरूलाई धमाधम मार्न थाले । यो खबर नागराज वासुकिकहाँ पुग्यो र उनी स्वयं भीमकहाँ आइपुगे । वासुकिको साथी आर्यकले भीमलाई चिने ।
आर्यक भीमका प्रपितामह थिए । भीमले आफूलाई धोका दिएर विष खुवाइएको र गंगामा बगाइएको कथा सुनाए ।
त्यसपछि आर्यकले भीमलाई हजार हात्तीको बल दिने कुण्डहरूको पानी पिलाए । यसले गर्दा भीम अझै शक्तिशाली भए ।
दुर्योधनको लाख प्रयासका बाबजुद पाण्डवहरू र विशेषगरी भीमलाई केही भएन । पछि महाभारतको युद्ध अन्त्य हुने बेलामा भीमले दुर्योधनको वध गरे ।