एजेन्सी । भारतका केन्द्रीय आयुषमन्त्री श्रीपाद नाइक दुर्घटनामा परेका छन् । ६८ वर्षीय मन्त्री नाइकको कार सोमबार कर्नाटकको अंकोलामा दुर्घटनामा पर्दा उनकी पत्नी विजया नाइक र स्वकीय सचिवको मृत्यु भएको छ । दुर्घटनामा मन्त्री नाइक गम्भीर घाइते भएका छन् ।
मन्त्री नाइकको अहिले अंकोला जिल्ला अस्पतालमा उपचार भैरहेको छ । अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ ।मन्त्री नाइक पत्नीसहित गोकर्ण गइरहेका बेला येल्लापुर र गोकर्णबीचको सडक खण्डमा कार दुर्घटना भएको हो ।
कारमा सवार अन्य तीन जना गम्भीर घाइते छन् । उनीहरु कर्नाटकको येल्लापुरस्थित गणपति, कवादिकरे, पंडवासी ग्राम दीवी मन्दिर र ईश्वर मन्दिरमा पुजा गरेर फर्किदा दुर्घटनामा परेका थिए । यी मन्दिरहरुमा मन्त्री दम्पतिले अनुष्ठानसहित विशेष पुजा गरेका थिए ।